मुखालेका दुई हाँस्यव्यङ्ग्य कृति लोकार्पण

लोकपथ
35
Shares

काठमाडौं । हाँस्यव्यङ्ग्यकार एवं कवि भोजराज रेग्मी ‘मुखाले’का दुई कृति लोकार्पण गरिएको छ । मंगलबार कमलादीमा एक कार्यक्रमबिच मुखालेका दुई हाँस्यव्यङ्ग्य कृति ‘औडाहा डटकम’ कवितासङ्ग्रह र ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ आख्यान सङ्ग्रह लोकार्पण गरिएको हो ।

फित्कौलीका सम्पादक नरनाथ लुइँटेलको अध्यक्षता र डा. गोविन्दराज भट्टराईको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रम एक मिनेटसम्म झाँक्रीको ढोलढ्याङ्ग्रो बजेपछि सुरु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. गोविन्दराज भट्टराईले हाँस्यव्यङ्ग्यमा मुखालेको उपस्थिति स्वागतयोग्य रहेको बताउँदै हाँस्यव्यङ्ग्यको हैसियत उठाउन फित्कौलीले गरिरहेको प्रयत्न प्रभावकारी हुँदै गएकामा आफू हर्षित भएको उल्लेख गरे ।

लोकार्पित दुई कृतिमध्ये ‘औडाहा डटकम’ कवितासङ्ग्रहमाथि समीक्षक डा. रमेश शुभेच्छुले टिप्पणी गदै कवितामा मुखालेको मुख मज्जैसँग चलेको बताए । त्यसैगरी आफूलाई फुइँडाक्टर भनेर चिनाउने डा. नवराज खतिवडाले लोकार्पित अर्को कृति ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ आख्यानात्मक सङ्ग्रहमाथि समीक्षा गरेका थिए । उनको समीक्षा ओभरहेड प्रोजेक्टर प्रविधिमा आधारित थियो ।

कार्यक्रमको बीचबीचमा हाँस्यव्यङ्ग्य सिर्जनाहरूको प्रस्तुति गरिएको थियो । चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, डा. बमबहादुर जितालीले कविता सिर्जना सुनाए भने थरेन्द्र बरालले प्यारोडी गीत प्रस्तुत गरे ।

सिस्नुपानीका ख्यातिप्राप्त उद्घोषक सरोज घिमिरेद्वारा सञ्चालित मनोरञ्जक कार्यक्रमको अन्त्यतिर डिल्लीप्रसाद मूलतिहुनले कृतिका लेखक मुखाले र फित्कौलीका सम्पादक लुइँटेललाई एक–एकवटा फर्सी पुरस्कार दिँदै फर्सीकै कविता सुनाउँदा प्रेक्षालयभरि हाँसो गुञ्जिएको थियो ।

राजधानीमा रहेका हाँस्यव्यङ्ग्यङ्ग्यमा रूचि राख्ने स्रष्टा र द्रष्टाहरूको बाक्लो सहभागिता रहेको कार्यक्रममा भोजराज रेग्मीले अतिथि एवं सहभागी सबैप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो कविता सिर्जना प्रस्तुत गरेका थिए ।

कृतिकार स्वयम्ले दर्शकदीर्घाबाट डोकोमा भारी बोकेझैँ बोकेर मञ्चमा पुर्‍याइएका दुवै कृतिहरू भारी उधिनेर प्रमुख अतिथि र अतिथिहरूद्वारा बाँडचुँड गरी सामूहिक लोकार्पण गरिएको थियो ।

अभिनयात्मक ढङ्गले गरिएको यस किसिमको लोकार्पण शैली निकै नौलो र मनोरञ्जक थियो । दुवै कृति फित्कौली अनलाइन मिडियाबाट प्रकाशन भएका हुन् । उनको यसअघि ‘चित्त दुखेको ओखती’ कविता सङ्ग्रह प्रकाशित छ । फित्कौलीको युट्युब च्यानल र फित्कौली डटकमबाट कार्यक्रम प्रत्यक्ष प्रशारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?