गगनलाई ओलीको प्रश्न : प्रधानमन्त्रीको शयन कक्षसम्मै बिचौलियाको पहुँच छ भनेर प्रमाणित गर्न सक्नुहुन्छ ?

लोकपथ
1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्मै बिचौलिया पुगेको कुरा प्रमाणित गर्न चुनौती दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महामन्त्री थापालाई प्रधानमन्त्रीको शयन कक्षसम्मै बिचौलिया पुगेको कुरा प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् ।

उनले राम्रो काम गरेको भन्न नसक्ने र धङधङ्गार बोल्ने गरेको टिप्पणी गरे । प्रधानमन्त्रीको शयन कक्षसम्मै बिचौलियाको पहुँच छ भन्नेहरूप्रति दया लागेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले त्यस्ता कुरा प्रमाणित गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरे । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्रीहरूको शयन कक्षसम्मै बिचौलियाको पहुँच रहने गरेको बताएका थिए ।    

उनले भने, ‘काम कस्तो गर्‍यो, त्यसमा जान सक्दैन । कोही यस्तरी धङधङ्गार बोल्छन्, प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच पुगेको छ भनेर । दया लाग्छ तिनको । त्यस्ता शब्दहरू सुन्दा । के बोलेको त्यो ? त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन् ? तर बोलेका छन्, त्यस कुरालाई हतियार बनाएर त्यसलाई उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू फेरि त्यसैलाई लिएर उफ्रिएका छन् ।’

प्रधानमन्त्री ओलीले त्यही कुरालाई हतियार बनाएर र उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू उफ्रिरहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?