करारमा कार्यरत अमिनले भ्रष्टाचार गरी कमाए झन्डै तीन करोड ३० लाख रुपैयाँ, अख्तियारद्वारा मुद्दा दायर

लोकपथ
4.4k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ । उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंअन्तर्गतको सो आयोजनामा कार्यरत यादवले ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले ठहर गरेको छ ।

प्राप्त उजुरीको आधारमा यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा निजले वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरेको अख्तियारले जनाएको छ ।

तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको यादवले वैध आय गरेको देखिएको अख्तियारले जनाएको छ ।

तर, सोही अवधिमा घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसाको खर्च गरेको देखिएकाले निजको आयभन्दा व्यय अत्यधिक भएको र सो गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति भएको पुष्टि भएको अख्तियारको ठहर छ । त्यसैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसुरमा दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरिएको छ ।

यस्तै, सो गैरकानूनी सम्पत्तिबाट आर्जन भएको रकम र त्यसबाट बढाइएको सम्पत्ति दिनेश यादवले आफ्नी श्रीमती अमृताकुमारी यादवको नाममा राखेको देखिएको हुँदा अमृताकुमारी यादवलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार ऐन, २०४८ को दफा २९ ख बमोजिम प्रतिवादी बनाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?