काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।
नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बन्ने सुनिश्चित भएसँगै उनले राजीनामा बुझाएको राष्ट्र बैंक स्रोतले जनायो ।
लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भट्टलाई गभर्नर बनाउने सहमति भएको सूचना आइरहेका छन् । भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
भट्टले यसअघि प्रकाशशरण महत अर्थमन्त्री छँदा आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए । उनलाई गभर्नर बनाउनुपर्ने भन्दै सुदूरपश्चिमका कांग्रेस जिल्ला सभापतिहरूदेखि सांसदहरूका टोली धेरैपटक बुढानीलकण्ठ पुगेका थिए।
राष्ट्र बैंकका क्याडर भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ र सक्षम मानिन्छन् ।
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैंकबाट बिदा भएका थिए । त्यसयता गभर्नर पद खाली छ ।
भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना छ ।
समितिका सदस्य डा विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले हाल कायममुकायम गभर्नरको भूमिकामा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन जोडबल गरेका थिए । तर, देउवा त्यसमा तयार भएनन् ।
यसअघि पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसेका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे पनि कांग्रेस नेतृत्वको साथ पाएर गभर्नर बन्ने प्रयासमा थिए । क्षत्री र पाण्डे सर्वोच्च अदालतको आदेशका कारण प्रतिस्पर्धाबाट बाहिर परिसकेका छन् । सर्वोच्चले मंगलबार मात्र ६५ वर्षे उमेर हदको व्यवस्था हटाउने गरी मापदण्डमा सरकारले गरेको संशोधन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया