हेटौंडा । मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
गएराति मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडक खण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
मृत्यु हुनेमा रौतहटकी ५० वर्षीया नीलमदेवी राउत र सर्लाहीकी १३ वर्षीया मानुषी मगर छन् । राउतको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुषी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।
दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमान्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।
दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया