काठमाडौं । सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद र पार्टीमा सहमहामन्त्रीको जिम्मेवारीमा छिन् ।
छोटो समय शिक्षामन्त्री भएर केही सकारात्मक काम गर्न खोजेको जस पाएकी सुमना अध्ययनशील नेताको रुपमा समेत परिचित छिन् । संसद् र पार्टीभित्र समेत आफ्नो अडान कायम गर्ने सुमनाको मुख्य ध्यान सबै क्षेत्रलाई दलीयकरण भन्दा माथि राख्नुपर्नेमा कायम देखिन्छ ।
शिक्षामन्त्री हुँदा होस् या सांसदको मात्र भूमिकामा रहँदा शैक्षिक संस्थालाई राजनीतिक भागबण्डाको केन्द्र बनाउनुहुन्न भन्ने मान्यतामा अडिग उनले त्यसमा ताली र गाली दुवै पाइन् ।
वैकल्पिक राजनीतिका नाममा उदाएको उनको दल र विकल्प दिन आफू अन्य भन्दा सक्षम हुनुपर्छ भन्ने मान्यता राख्ने सुमना राजनीतिमा प्रवेशदेखि आलोचना र चर्चाको पात्र भने बनिरहेकी छन् ।
अहिले सुमनाले राजनीतिक शुद्धिकरण भन्दै अघि सारेको प्रस्तावका कारण थप चर्चामा छिन्, त्यो हो पार्टीको जिम्मेवारीबाट अलग । सुमनाले पार्टी सहमहामन्त्रीबाट राजीनामा दिएर आफू विधायिकी भूमिकामा मात्र रहन खोजेको बताइन्छ । उनले कार्यबाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई पत्र समेत पठाइसकेकी छन् । आजै बस्ने पार्टी बैठकले त्यसमा निर्णय लिने बताइन्छ ।

सहकारी ठगी प्रकरणमा सभापति रहेका रवि लामिछाने हिरासतमा रहेका बेला एकाएक पार्टीको जिम्मेवारीबाट सुमनाको राजीनामा आउँदा त्यसलाई रास्वपाभित्रको राजनीतिक किचलोका रुपमा समेत विश्लेषण भइरहेको छ । तर स्वंय रास्वपाले भने सुमनाको पार्टी जिम्मेवारीबाट अलग हुन चाहेको विषयलाई सकारात्मक र नेपाली राजनीतिलाई सिकाउन खोजेको एउटा पाठ र सकारात्मक प्रयासको रुपमा लिएको छ ।
सुमनाले पार्टीमा गरेको प्रस्ताव नेपाली राजनीतिको शुद्धिकरणको सुरुवातको रुपमा रहेको रास्वपा सांसद समेत रहेका कार्यवाहक प्रवक्ता मनिष झा बताउँछन् । उनले लोकपथसँग कुरा गर्दै सुमनाले आफूले विधायिकी भूमिकामा थप प्रखर रुपमा लाग्न अन्य जिम्मेवारीबाट अगल हुनु सकारात्मक भएको बताए ।
एकै व्यक्ति धेरै पदमा बसेर कुनै पनि जिम्मेवारीबाट राम्रो परिणाम दिन नसकिरहेका बेला आफू अन्य जिम्मेवारीबाट अलग भएर मुख्य जिम्मेवारीमा केन्द्रित रहन खोज्नु सकारात्मक विषय रहेको उनको दाबी छ ।
‘सुमनाजीको निर्णय सकारात्मक पहलको प्रयास हो । म अन्य जिम्मेवारीमा नअल्झिकन आफ्नो विधायिकी भूमिकालाई अझ प्रमुखताका साथ निभाउँछु भन्नु सुसंस्कृत राजनीतिका लागि उदाहरण हो । रास्वपा त्यसलाई स्वागत गर्छ र नेपाली राजनीतिले पनि पाठ सिकोस्,’ झाको तर्क छ ।
त्यसो त आफू शिक्षामन्त्री रहँदा त्रिभुवन विश्वविद्यालय लगायत देशभरका विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने धारणा राख्दै आइरहेकी थिइन् । प्रधानमन्त्री आफैँ ठूलो जिम्मेवारी रहेको, त्यसमाथि पार्टीको जिम्मेवारी र विश्वविद्यालयको समेत कुलपति रहँदा कतै पनि कार्यसम्पादन राम्रो नहुने उदाहरण दिँदै उनले ‘एक व्यक्ति एक पद’ धारणा अघि सार्नुपर्ने वकालत गर्दैै आइरहेकी थिइन् ।
योग्य व्यक्तिलाई कुलपति बनाएर प्रधानमन्त्री त्यसबाट अलग हुनुपर्ने र विश्वविद्यालयमा राजनीतिक प्रभावलाई कम गर्दै लैजाने व्यवस्था गर्नुपर्ने सुमनाको अडान थियो, छ । त्यसैको प्रयासस्वरुप आफूले पार्टीबाटै ‘एक व्यक्ति एक पद’ को अवधारणामा अघि बढेको कार्यवाहक प्रवक्ता झा बताउँछन् ।

‘हाम्रो देशका हरेक विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्था रहेको छ । प्रधानमन्त्रीलाई आफैँमा देशको सम्पूर्ण जिम्मेवारी हुन्छ, त्यसमाथि पार्टी चलाउनुपर्ने, अन्य कुरामा समेत इन्गेज हुनुपर्दा मुख्य जिम्मेवारीमा बढी केन्द्रित हुन नसकेको हो कि जस्तो देखिन्छ,’ उनले भने, ‘अझ विश्वविद्यालयको कुलपति समेत प्रधानमन्त्री नै रहँदा कार्यसम्पादन कतै राम्रो भएको छ त ? हो, सुमनाजीको प्रयास योग्य व्यक्ति उचित ठाउँमा हुनुपर्यो र अन्य व्यक्ति आफ्नो योग्यता अनुसारको जिम्मेवारीमा रहेर कार्यसम्पादन गर्नुपर्यो भन्ने सन्देश हो ।’
रवि लामिछानेकै योजना अनुसार सुमनाको राजीनामा
त्यसो त सुमनाको राजीनामा एकाएक आएको भने होइन । सुमनाले यसअघि नै पार्टी सभापति रवि लामिछानेलाई राजीनामा बुझाउन चाहन्थिन् तर सहकारी ठगीमा लामिछाने हिरासतमा रहेका कारण मौका मिलेको थिएन । ८४ दिन हिरासतमा बसेर बाहिर निस्किएपछि थोरै समय पार्टी जिम्मेवारीमा फर्किएपछि रविको नेतृत्वमा पार्टी बैठक बस्यो ।
गत चैत १८ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकमा लामिछानेले पार्टीलाई पुनर्संरचना आवश्यक रहेको बताएका थिए । लामो समयदेखि पार्टीमा ‘एक व्यक्ति, एक पद’ को धारणा राख्दै आइरहेकी सुमनालाई रविको प्रस्तावले थप बल पुगेको थियो । केन्द्रीय समिति बैठकमा आफू पार्टीको पुनर्संरचनाका लागि तयार रहेको र अन्यलाई समेत सहयोग गर्न आग्रह गरेकी थिइन् । सोही बैठकमा विभिन्न दोहोरो जिम्मेवारीमा समेत रहेका नेताहरुले आफूहरु दोहोरो जिम्मेवारीबाट अलग रहेर पार्टी पुनर्संरचनाका लागि सघाउन तयार रहेको बताएको कार्यवाहक प्रवक्ता झाले बताए ।

‘सभापतिज्यू केही समयअघि पार्टी जिम्मेवारीमा फर्किएका बेला हाम्रो पार्टीको बैठक बसेको थियो । सो बैठकमा उहाँले पार्टीमा पुनर्संरचना आवश्यक छ भन्नुभएको थियो । सोही बैठकमा सुमनाजी र अन्य नेताहरुले समेत त्यसका लागि लागि आफूहरुले सघाउन तयार रहेको बताउनुभएको थियो । विभिन्न विभागीय प्रमुखहरुले समेत आफूहरुले सहयोग गर्न तयार रहेको भन्नुभएको छ,’ उनले थपे, ‘उहाँहरुको समेत राजीनामा यसैगरी आउला र एक व्यक्ति एक पदको कन्सेप्टले विकसित रुप पाउला ।’
अन्य दल र स्वयंम रास्वपालाई चुनौती
यो विषय रास्वपामा अहिले उठे पनि अन्य पूराना केही दलका नेताहरुले यो विषयलाई पहिल्यैदेखि बहसमा ल्याएका थिए, तर कार्यान्वयनको पाटो भने फितलो बन्यो । एकै व्यक्ति धेरै जिम्मेवारीमा रहँदा मुख्य जिम्मेवारीमा कार्यसम्पादन गर्न नसक्ने विषय नेपाली राजनीतिमा नौलो विषय भने होइन ।
स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म एकै व्यक्ति दोहोरो जिम्मेवारीमा रहँदा एकातिर कार्यकर्ता व्यवस्थापन गर्न कठिनाइ त अर्कोतिर कार्यसम्पादनमा प्रश्न उठ्ने गरेको थियो । जसका कारण यही धारणालाई सुमनाले सुरुवात गरे पनि उनकै दलमा अन्य नेताहरुले के गर्छन् भन्ने चुनौतीका रुपमा रहने देखिन्छ ।
पार्टी सभापति रविमाथि सहकारी गठीको मुद्दा चलिरहँदा लामो समय कार्यवाहकको जिम्मेवारी कसलाई दिने भन्ने विषय समेत रास्वपामा पेचिलो बनेको थियो ।
आफूलाई एउटा मात्रै जिम्मेवारीमा मात्रै केन्द्रित गराउन सुमनाले राजीनामा दिइएको बताइए पनि सभापति लामिछानेसँग सुमनाको मनमुटावले समेत त्यसमा भूमिका खेलेको समेत बताइन्छ । साथै सुमनाको राजीनामाले पार्टी नेतृत्व र अन्य शीर्ष नेतासहित दोहोरो जिम्मेवारीमा रहेकाहरुलाई थप चुनौती थपेको छ । त्यति मात्र होइन जिम्मेवारीको खातैखातले मुख्य जिम्मेवारीबाट परिणाम दिने काम गर्न नसकिरहेको भनेर आलोचना भइरहेका बेला अन्य राजनीतिक दलका नेताहरुलाई समेत नयाँ पाठ बन्न सक्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया