नेपालगन्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

लोकपथ
924
Shares
फाइल तस्बिर

बर्दिया । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगन्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्रे सम्पन्न भएको हो । 

विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्रे पूरा भएको आयोजना कार्यालयका इन्जिनियर युवराज तिमिल्सिनाले बताए। हाल करिब आठ मिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको भन्दै उनले पहिलो (सिङ्गल) कालोपत्रेको काम दुई दिनभित्र सम्पन्न हुने जानकारी दिए।

इन्जिनियर तिमिल्सिनाका अनुसार यही चैत २५ गतेभित्र सम्पूर्ण खण्डमा कालोपत्रे सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनीले दुई अर्ब ७८ करोड २९ लाखमा ठेक्का लिएको थियो । 

आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले आगामी मङ्सिर २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले निर्धारित समयभन्दा अघि काम सम्पन्न हुने सम्भावना देखिएको बताए। 

नेपालगन्ज–गुलरिया हुलाकी सडकको कूल लम्बाइ २७ दशमलव छ किलोमिटर रहेको छ । जसमध्ये ११ दशमलव छ किमी चार लेनमा निर्माण गरिएको सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनका अनुसार बाँकी १६ किमी खण्डको दुई लेनमध्ये करिब तीन किमी डबल कालोपत्रे गर्न बाँकी छ ।

निर्माण कम्पनीले तीव्र गतिमा कार्य गरिरहेकाले सम्झौताअनुसार तोकिएको समयभन्दा अघि पूर्ण रूपमा कालोपत्रे हुने उनले विश्वास व्यक्त गरे । सडक सम्पन्न भएसँगै नेपालगन्ज–गुलरिया यात्रा छिटो, सहज र सुरक्षित हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?