काठमाडौं । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने गरिन्छ ।

आज बिहान ८ः३३ बजेको शुभ साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।
आज पशुपति, हनुमानढोका दरबारको सुन्दरी चोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा चीर ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत् रूपमा होली पर्व सुरु भएको मानिने बताए । होली पर्व असत्यमाथि सत्यको जित भएको रूपमा पनि मान्ने गरिएको बताए ।

उनले भने, ‘होली असत्यमाथि सत्यको जितको प्रतीकको रूपमा मनाउने गरिन्छ । त्यस्तै भगवान् श्रीकृष्णको कथासँग पनि जोडिएको छ। बाँसै किन चाहियो भन्ने कुरा पनि छ । भगवान् विष्णुलाई सबैभन्दा मन पर्ने बाँस नै हो । चीरको महत्त्व परापूर्व कालदेखि नै छ । असत्यमाथि सत्यको जितको रूपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत् रूपमा होली सुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आएको परम्परा हो ।’

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया