मदन भण्डारीलाई स्मरण गर्दै ज्ञानेन्द्रलाई गैरेको चेतावनी– ‘पाएको सुविधा पनि गुम्ला’

लोकपथ
5.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्व राजा ज्ञानेन्द्र शाहले शहीदहरुप्रति अपमान गरेको आरोप लगाएका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नेहरुप्रति अपमान गर्दै प्रजातन्त्रप्रति विष बमन गरेको आरोप लगाए ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोलेका उनले अझै शासन गर्ने धोको पालेको भए पाएको सुविधा समेत गुम्न सक्ने चेतावनी दिए । साथै एमालेका तत्कालीन महासचिव मदन भण्डारीको भनाइलाई स्मरण गर्दै उनले राजतन्त्रको समाप्तीपछि राज्यले नै सुविधा दिएर राखेको स्मरण गराउँदै पुनः आशनमा फर्किन खोजे स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकारको सुनिश्चिता समेत गुम्न सक्ने बताए ।

गैरेले ज्ञानेन्द्रलाई चेतावनी दिँदै भने :
म स्मरण गर्न चाहन्छु, जननेता मदन भण्डारीले ०४६ सालको परिवर्तन लगत्तै ०४८ सालको निर्वाचनको नजिकै तत्कालीन राजाले केही संविधान उल्लंघन गर्ने प्रयत्न गरेपछि जननेता मदन भण्डारीले भन्नुभएको थियो, महाराज हात नलम्बाइबक्सियोस्, आँखा नझिम्काइबक्सियोस्, संविधान र यो व्यवस्थाले दिएको आशनमा बस्नुहोस् हामीलाई कुनै आपत्ति छैन । यदी संविधान उल्लंघन गर्ने कोशिस भयो भने राजतन्त्रको समाप्तीलाई कसैले रोक्न सक्ने छैन ।

राजा ज्ञानेन्द्रले संविधान उल्लंघन गर्ने कोसिस गरे । संविधानले दिएको अवसर र आशनलाई अपमान गर्ने कोसिस गरे । निरंकुशता लाद्ने, दलहरुलाई बन्देज लगाउने कोसिस गरे, त्यसको परिणाम निरंकुश राजतन्त्रको अन्त्य भयो । २४० वर्षदेखिको राजाहरुको ब्रम्हलुटको अन्त्य भयो, देशप्रतिको दोहनको अन्त्य भयो । आज जनताले बोल्न पाउने, लेख्न पाउने, चुन्न पाउने, चुनिन पाउने, आफ्ना जनतामार्फत् चुनिएर जनताको संसद्मार्फत् नेतृत्व गर्न पाउने, राष्ट्रपति हुन पाउने र प्रधानमन्त्री हुन पाउने कुराको सुनिश्चिता भएको छ । हामीले पूर्वराजालाई नागार्जुनमा देशले सुरक्षा प्रबन्ध गरेर बस्न दिएको छ । म पूर्वराजालाई मदन भण्डारीको त्यही भनाइलाई स्मरण गर्दै भन्न चाहान्छु, पूर्व राजाको स्थानमा बस्ने, मठमन्दिरहरुको पूजाआजा गर्ने यो अवसरको शान्तपूर्वक प्रयोग गर्नुहोस् हामीलाई कुनै आपत्ति छैन । होइन अब फेरि हात लम्काउने, आँखा झिम्काउने कोसिस गर्न खोजिएको हो भने, अहिले प्राप्त यो अवसर समेत गुमाउन खोजेको हो भने हामीलाई त्यसको कुनै पनि चिन्ता हुने छैन । त्यो परिस्थिति समेत गुमाउन इच्छा हो भने हात लम्काउने कोसिस गर्नुहोस् अन्यथा चुप लागेर बस्नुहोस् भन्ने म चुनौती दिन चाहान्छु ।

त्यस्तै उनले राजा समर्थित राप्रपा लगायतका दलहरुलाई राजालाई पुनः शासनमा फर्काउने कोसिस नगर्न समेत चेतावनी दिए ।
‘केही राजनीतिक दलहरुले, केही व्यक्तिहरुले चुरिफुरी गरेको हामी देखिरहेका छौँ । त्यो चुरिफुरीको कुनै अर्थ रहने छैन र त्यो चुरिफुरीको समाप्ती हुनेछ भन्ने म ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने ।

गैरेले फरक प्रशंगमा अमेरिकाले हालै रोकेका विभिन्न अनुदान र सहयोगका कार्यक्रमबारे देशले गम्भीर भएर सोच्नुपर्ने बताए । साथै वर्तमान सरकारले गरेको कामको प्रशंसा गर्दै विपक्षी दलहरुले सरकारको आलोचना मात्रै गर्ने गरेको भन्दै कटाक्ष समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?