काठमाडौं । निर्वाचनपछि गत असारको अन्तिममा सत्ताबाट बाहिरिएपछि अहिले माओवादीको देश दौडाह चलिरहेको छ ।
विभिन्न अभियान चलाइरहेको माओवादीले सोमबारबाट ‘जनतासँग माओवादी ः तराई मधेश जागरण अभियान’ सुरु गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट अभियान सुरु गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु झापा पुगे ।
सबै शीर्ष नेताहरुलाई बोल्ने पालो छुट्टयाइएकोमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बोल्न मञ्चतिर पुगे । सोही क्रममा कार्यक्रम प्रस्तोता माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नी नारायणकाजीको अघि पुगे । आफ्नै सुरमा बोलिरहेका नारायणकाजी एकाएक आचार्यसँग रन्किए । किन यहाँ आएको ? मलाई बोल्न सक्नुस् भन्न आउनुभएको हो ? भन्दै झोक्किए । आचार्यले निरन्तर होइन भनिरहे । तर आफूलाई बोल्न रोक्न खोजेको सोचेर नारायणकाजी भन्ने कुरा धेरै थियो तर बोल्न नदिएको भन्दै आफ्नो सिटमा गएर बसे ।

त्यसपछि बोलेका अध्यक्ष प्रचण्डले त्यस विषयमा स्पष्टीकरण नै दिनुपर्यो ।
त्यसपछि कार्यक्रमस्थलबाटै उनी हिँडे र झापाका अन्य कार्यक्रममा नारायणकाजी देखिएनन् । आज पार्टी कार्यक्रमको शिलशिलामा चितवन पुगेका नारायणकाजीले सोमबारको घटनाका विषयमा आत्मालोचना गर्दै माफी समेत मागेका छन् । आफूबाट जे हुन नपर्ने थियो त्यो भएको भन्दै आफ्नो गलत मनसाय नरहेको समेत बताएका छन् ।
प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले नै सहमति दिएपछि आफू बोल्न गएको तर आफूलाई मनोवैज्ञानिक त्रास सिर्जना गरिएको बताए ।
उक्त विषयलाई सामान्य घटनाकै रुपमा लिन आग्रह गर्दैै उनले भनेका छन्, ‘म बोल्न जाँदा म बोल्न मात्र के सुरुवात गरेको थिएँ, अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो स्थिति सिर्जना भयो । त्यसले अलि मलाई बिजायो नै, त्यो कुरा सत्य नै हो । तर त्यसपछाडी मैले थप बोलिन् । त्यसलाई म सामान्य घटनाकै रुपमा लिन सबैलाई म अनुरोध गर्दछु । हाम्रो अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा पार्टीभित्र जुन किसिमको असाधारण सुदृढ हुँदैछ । अध्यक्ष कमरेडकै नेतृत्वमा हामी अहिले रुपान्तरण र पुनर्गठनको अभियान अगाडी बढाउँदैछौँ । र यो पार्टीलाई क्रान्तिकारी र शक्तिशाली पार्टीमा रुपान्तरण गर्ने प्रक्रियामा अगाडी बढ्दैछौँ । त्यसमा हामी अझ बढी प्रभावकारी ढंगले अगाडि बढ्छौँ त्यसमा अर्को कुनै सम्बन्ध छैन ।’
त्यसो त चितवनमा उनले सार्वजनिक रुपमा आत्मालोचना र क्षमायाचना गर्दै आत्मप्रशंसा गरेका छन् । उनले आफू राष्ट्रियताको सवालमा कहिल्यै नचुक्ने, स्वच्छ व्यक्ति रहेको, भ्रष्टाचारविरुद्ध अडान राख्ने र व्यवहारमा नै कार्यान्वयन गर्ने भन्दै आफ्नै आत्म प्रशंसा गरे । आफू स्वच्छ छवि रहेको व्यक्ति भन्दै आफूबाट त्यसो हुँदा धेरै सुभेच्छुकहरुले त्यसो नभएको भए हुने भन्दै प्रतिक्रियाहरु आइरहेको बताए ।

‘मैले त्यहाँ प्रस्तुत गरिसकेपछि सुभेच्छुकहरु, समर्थकहरु र आम जनसाधारणले पनि राष्ट्रियताको बारेमा कहिल्यै नचुक्ने, देशभक्तिपूर्ण अडान राख्ने, भ्रष्टाचारविरुद्ध त्यत्रो अडान राख्ने र व्यवहारमा कार्यान्वयन गर्ने, स्वच्छ व्यक्तित्व, विधिपद्धत्तिमा सधै अग्रणी पालना गर्ने र जनमुक्ति अडानहरुको निम्ति स्थापित र पार्टीलाई क्रान्तिकारी बनाउन अडान राखिराख्ने व्यक्तित्वले त्यसो नगर्दिएको भए पनि हुन्थ्यो, सहिदिएको भए पनि हुन्थ्यो भन्ने कुरा आइरहेको छ,’ आफ्नो प्रशंसा गर्दै उनले भने, ‘कतिपय पार्टी बाहिरका साथीहरुले मलाई म्यासेज पनि पठाउनुभएको छ, तपाईँको टावरिङ प्रस्नालिटीले त्यो प्रतिनिधित्व गर्दैन कि ? भनेर । ती सबै जसलाई त्यसो नभएको भए हुन्थ्यो भन्ने पर्या छ, जसलाई अलिकति चित्त दुख्या छ, ती सबैप्रति म सकारात्मक धारणा राख्दै सार्वजनिक रुपमै म क्षमायाचना गर्न चाहान्छु ।’
आगामी चैत ७ गतेसम्म चल्ने उक्त हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानको दोस्रो दिन आज मोरङमा माओवादीले कार्यक्रम आयोजना गरेको छ । त्यहाँ अध्यक्ष प्रचण्ड, उपाध्यक्ष अग्नी सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवसहित अन्य नेताहरु समेत उपस्थित छन् । तर पूर्व निर्धारित कार्यक्रम भन्दै नारायणकाजी भने चितवनमा रहेका छन् । केही हिजोको घटनाको असर र पूर्व निर्धातिर कार्यक्रमको बहानामा नारायणकाजी मोरङ नगएको बताइन्छ ।
त्यसो त सोमबार नै मञ्चमा रिसाएपछि उनी त्यसपछिका कार्यक्रमहरुमा देखिएनन् । कचनकवल लगायत अन्य ठाउँमा समेत हिजो नै कार्यक्रम राखिएको थियो । तर आफूलाई अपमान गरिएको भन्दै उनी त्यहाँबाट सोझै काठमाडौं हानिएका थिए ।
त्यसपछि बोल्न मञ्चमा पुगेका प्रचण्डले त्यसबारे स्पष्टीकरण दिँदै पार्टी एक ढिक्का भएको स्पष्ट पारेका थिए ।
‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दैगर्दा तपाईंहरू बडो ध्यानपूर्वक सुनेको मैले महसुस गर्दै थिएँ । त्यही बेलामा अग्नी जी यहाँ आइपुग्नु भएछ । त्यसले उहाँलाई अलिकति के हो भन्ने पर्न गयो,’ प्रचण्डले भनेका थिए, ‘यसमा अग्नी जीले अलिकति आत्मसमिक्षा गरेर यसमा मेरो गल्ती भए क्षमा चाहन्छु भनिसकेको हुनाले यसको मूल्याकंन, समीक्षा त गरौंला ।’
माओवादीभित्रको आन्तरिक संघर्ष र नारायणकाजी
माओवादीभित्र निरन्तर आलोचना हुने र नेतृत्वको वरिपरि घुम्ने पात्र हुन् नारायणकाजी श्रेष्ठ । उनी हाल वरिष्ठ उपाध्यक्ष छन् । माओवादी शान्ति वार्तामा आइसकेपछि तत्कालीन एकता केन्द्र माओवादीमा मिलाएर निरन्तर लाभको पदमा रहँदै आएका छन् श्रेष्ठ । १० वर्ष जनयुद्ध लडेकाहरुलाई वाइपास गरेर जनयुद्ध सुरु हुँदा पार्टी फुटाएर हिँडेका पात्रलाई निरन्तर लाभको पदमा राखेको भन्दै नारायणकाजीको आलोचना पार्टीभित्र हुने गरेको छ ।
माओवादी र एकता केन्द्रबीच एकता भएको लामो समय भइसक्दा पनि अझै ‘जनयुद्ध लडेको माओवादी र जनयुद्ध नलडेको माओवादी’ बीच कित्ताकाट हुँदै आइरहेको छ । निर्वाचनमा पराजित भए पनि निरन्तर पार्टी राजनीति र संसदीय राजनीतिमा लाभ लिने उनै पात्र नाराणकाजी हुन् । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनका लागि अध्यक्ष प्रचण्डले उनै नारायणकाजीलाई प्रयोग गरेर स–साना झगडा मिलाउने गरेका छन् ।
त्यसो त माओवादीमा प्रचण्डको प्यारो बन्न बेला बेला होडबाजी नै चल्छ । कार्यकर्तापंक्तिबाट आलोचना हुने गरे पनि अध्यक्षले पत्याएकै कारण पार्टी र संसदीय राजनीतिमा नारायणकाजीको हालीमुहाली चलिरहेको देखिन्छ । पछिल्लो समय माओवादीभित्र प्रचण्डको प्रीय बन्न उपमहासचिवद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ बीच रस्काकस्सी देखिन्छ । हाकाहाकी प्रचण्डकै अघि नेतृत्वको विरोध गर्ने प्रभाकर र नेतृत्वको आलोचना धेरै नगर्ने स्वभावका अनन्त मिलाउन प्रचण्डले ‘आउट सोर्सिङ’ समेत गर्ने गरेको चर्चा चल्ने गरेको छ ।

यसैबीच सोमबार एक तस्बिर सार्वजनिक भयो । जहाँ प्रचण्ड उनै अनन्त र प्रभाकरलाई दाँया बाँया राखेर तस्बिर खिचाए । दुई नेताहरुलाई मिलाएर आन्तरिक शक्ति मिलाएको सन्देश उक्त तस्बिरले दिएको विश्लेषण गरिन्छ ।
दुई पात्र जसलाई मिलाएपछि पार्टी एकढिक्का भएको भन्ने सन्देश प्रचण्ड स्वयमले बेला बेला दिने गरेका छन् । दुई नेताहरुलाई मिलाएर पार्टीलाई एक ढिक्का बनाएको सन्देश दिन खोज्दा नारायणकाजीलाई वेबास्ता गरिएको भन्दै उनी रिसाएको हुनसक्ने समेत चर्चा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया