६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

लोकपथ
84
Shares

काठमाडौं  । स्याङ्जाको चापाकोट नगरपालिकाले ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।

आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सुविधा पाउनबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्य बीमा गरिदिएको नगर प्रमुख देवबहादुर खाँडले बताए । उनले भने, ‘नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानमा आबद्ध बनाइ स्वास्थ्य सेवालाई अति विपन्न वर्गको पहुँचसम्म पु-याउन निःशुल्क स्वास्थ्य बीमा गरिदिएका हौँ ।’

नगरपालिकाले चालु आर्थिक वर्षमा अति विपन्न समुदायको स्वास्थ्य बीमा गर्न  २५ लाख ६० हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटबाट पहिलो चरणमा छ सय परिवारको बीमा गरिएको र दोस्रो चरणमा अपाङ्गता भएका र अन्य विपन्न गरी एक सय २५ जनाको बिमा गरिदिने नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा सात सय २५ जनाको स्वास्थ्य बीमा गर्न बजेट विनियोजन गरेकामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि थप बजेट व्यवस्थानको तयारी गरिरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्वास्थ्य बीमा बनाइदिएका नागरिकलाई बिमा कार्ड वितरण गरेको छ । स्वास्थ्य बीमा कार्ड बनाइदिएसँगै पाँच जनाको परिवारलाई एक लाखसम्मको  स्वास्थ्य उपचार सेवा निःशुल्क प्राप्त हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?