काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाए ।
उनले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बीमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिइन् ।
उनले भनिन्, ‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भन्ने महत्वकांक्षी सपना बाँड््नु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानि गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो । चल्ने बेला चाहीँ स्वास्थ्य बीमा हामीले ल्यायौँ भनेर जस लिन खोज्ने अनि नचल्ने बेला यसलाई अलपत्र पारेर वर्षौंसम्म यसलाई हतोत्साहित बनाउने बानी राम्रो भएन । यसका लागि सल्लाह दिन सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सल्लाह दिन तयार छौँ । स्वास्थ्य बीमा शुरु गरौँ मन्त्रीज्युका परिवार र मन्त्रालयबाटै गरौँ ।’
पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी कार्कीले स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाउन माग गरिन् ।
त्यसो त पछिल्लो समय केही अस्पतालहरुले स्वास्थ्य बीमाको रकम नपाएको भन्दै गुनासो गरिरहेका छन् । स्वास्थ्यमन्त्री पौडेलले समेत भुक्तानीको समस्या रहेको र केही अस्पतालहरुमा समस्या समाधान भइसकेको र केहीमा बाँकी रहेको बताउँदै आइरहेका छन् । साथै १ लाखको दायरामा रहेको स्वास्थ्य बीमालाई स्रोतको सुनिश्चितता गरेर ५ लाखसम्म पुर्याउने लक्ष्यका साथ आफूले काम गरिरहेको समेत मन्त्री पौडेलको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया