काठमाडौं । वन तथा वातावरणन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तीय प्रभाव नपर्ने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।
उनले किंगलीले नवीकरणीय ऊर्जा कम गर्न वातावरणीय चिस्यान तथा रेफ्रिजेरेशन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको बताए । किंगाली संशोधनले हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट वस्तुलाई चरणबद्ध रूपमा घटाई सन् २०४५ सम्ममा हालको प्रयोगको ८० प्रतिशत खपत कम गर्ने उनको भनाइ छ । उनले संशोधित प्रोटोकलमा हाइड्रोफ्लोरो कार्बनका १८ वटा समूहलाई नियन्त्रित पदार्थको रूपमा समावेश गरिएको बताए ।
उनले संशोधित प्रोटोकल कार्यान्वयनको लागि वन संरक्षण ऐन र नियमावलीमा काम भइरहेको समेत बताए । यसअघि किंगाली संशोधनमाथिको छलफलमा सहभागी हुँदै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सम्झौता गरिएका विषयमा कस्तो पूर्व तयारी भएको छ ? भन्दै प्रश्न गरेका थिए ।
उनले किंगाली संशोधनका लागि नीतिगत सुधार र पूर्व तयारी नगरिए किसानहरूले किन्ने घरायसी सामानको मूल्य आकासिने जिकिर गरे । उनले हेर्दा सामान्य लागे पनि आम नागरिकको जीवनस्तरसँग जोडिएको कुरामा सोच्न जरुरी रहेको बताए ।
बैठकमा बोल्ने अधिकांश सांसदहरू मोन्ट्रियल प्रोटोकल किंगाली संशोधन अनुमोदन गर्दा नेपाललाई वित्तीय प्रभाव पर्न नदिने गरी अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया