काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोलेका सांसद सापकोटाले सरकारले राम्रोसँग काम गर्न नसकेको भन्दै मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।
केही दिन अघि नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा गरेको थियो । सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय संस्थाको ग्रे लिस्टमा पर्नु सरकारको कमजोरी रहेको भन्दै सांसद सापकोटाले राजीनामा माग गरेका हुन् ।
‘एफएटिएफले आधिकारिक रुपमा नेपाललाई ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्रमण्यता, वित्तिय क्षेत्र सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ । म यसका प्रति खेद व्यक्त गर्न चाहन्छु । निन्दा व्यक्त गर्न चाहन्छु र यो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रुपमा असफल भएको संकेतका रुपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रुपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्दछ भनेर सम्माननीय सभामुखमार्फत म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
त्यस्तै केही दिन अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको कार्यकक्षमा भएको घटनाप्रति सरकारले चासो नदेखाएको बताए । राखेपका सदस्यसचिव टंकलाल घिसिङमाथि उनको कार्यकक्षमा नै दुर्व्यवहार भएको तर सरकारकै संरक्षणका मान्छेहरु रहेका कारण सरकारले कारबाही गर्न रोकेको आरोप समेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया