तनहुँ । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्रे सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश स्थानमा कालोपत्रे सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्रे सुरु भएको हो ।
दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्रे थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरू भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्रे थालिएको उनले बताए ।
उनले भने, ‘बागबजार टोलमा एकतर्फी कालोपत्रे थालिएको छ । एकतर्फीको कालोपत्रे सकिएसँगै अर्कोतर्फ कालोपत्रे हुनेछ ।’ बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रेलाई अगाडि बढाइएको उनको भनाइ छ ।
पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्रे भइसकेको छ ।
यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।
विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया