काठमाडौं । सांसदहरूले बेरुजु हटाउन सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित महालेखापरीक्षाको वार्षिक प्रतिवेदन र संसद्को भूमिका कार्यक्रममा सांसदहरूले यस्तो बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले प्रतिवेदनको आधारमा पारदर्शिता र जबाफदेहिताको संस्कृति स्थापित गर्न सरकारलाई बाध्य पार्न सांसदहरूले भूमिका खेल्नुपर्ने बताइन् । उनले प्रतिवेदनको छलफल लेखा समितिमा मात्रै नभई संसद्मा गर्नुपर्ने सुझाव दिएकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद रामप्रकाश चौधरीले बेरुजु भन्ने बित्तिकै नराम्रो सोच्ने गरे पनि त्यस्तो नरहेको बताएका छन् । उनले तीन किसिमबाट बेरुजु हुने भन्दै कागजात नमिलेर पनि बेरुजु हुनसक्ने जिकिर गरे । संवैधानिक निकाय, मन्त्रालय, संघ, प्रदेशलगायत सबैको महालेखापरीक्षकको प्रतिवेदन राम्रै आएको उनको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले हालसम्म बेरुजु असुली गर्न कति बाँकी छन् र कहिलेसम्म असुली गर्नुपर्ने हो ? भन्दै प्रश्न गरिन् ।
राष्ट्रिय सभा सदस्यहरूले महालेखापरीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुले गाउँ-गाउँसम्म अनियमितता र भ्रष्टाचार हुने गरेको प्रति सबै निकायको ध्यानाकर्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया