‘कर्मचारी प्रशासनमा गुटबन्दीको स्थिति सिर्जना भयो’

लोकपथ
189
Shares

काठमाडौं । नेपालको कर्मचारी प्रशासनमा गुटबन्दीको स्थिति सिर्जना भएको सांसदहरूले बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनीहरूले प्रशासनमा अराजकता रहेको र त्यसमा राजनीतिककर्मी र मन्त्री बन्नेहरु पनि जिम्मेवार रहेको बताए । बैठकमा बोल्दै नेकपा एमाले सांसद रघुजी पन्तले नेपालको प्रशासनमा अहिले गुटबन्दीको स्थिति सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले यसमा राजनीतिक कर्मीहरू र मन्त्री बन्नेहरु पनि जिम्मेवार रहेको बताए । उनले अबको निजामति सेवा प्रशासन कता लैजाने भन्ने कुरालाई ध्यानमा राखेर ऐनका दफाहरूमा छलफल गर्न जरुरी रहेको बताए । 

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्दप्रसाद बडूले अधिकृत तहको निमित्त र अधिकृत तहमा कार्यरतलाई मात्रै नवौं र ११ औँ तहमा जानका लागि १०/१० प्रतिशतको बाटो छोडिएको भन्दै त्यसमा सबैलाई खुला गर्न आग्रह गरे । उनले यसमा निजामति सेवाकै राजपत्राङ्कितलाई किन नदिने ? भन्दै प्रश्न गरे ।

उनले आवश्यक योग्यता पुगेको र आवश्यक अनुभव भएकोलाई खुला गर्दा राम्रो हुने उनको सुझाव छ । एनजिओले निजामति सेवामा प्रवेश पाउनु भन्दा निजामति सेवाकै अनुभवी व्यक्तिले ठाउँ पाउनु राम्रो हुने बताए । 

बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारी प्रशासनलाई कसरी व्यवस्थित बनाउने ? भन्नेकुरामा बढी जोड दिनुपर्ने बताएका छन्  । कर्मचारी प्रशासन देशको उन्नतिको लागि कसरी उत्साहित गर्ने भन्नेमा सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ  । बैठकमा सांसदहरूले योग्य व्यक्तिलाई प्रतिस्पर्धामा जाने ढोका बन्द गर्न नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?