संविधान मिच्न बानी परेकाहरू कानुन मिच्न पनि त्यत्तिकै अग्रसर छन् : अध्यक्ष नेपाल

लोकपथ
189
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन् ।

साना र प्रतिस्पर्धी  दलहरूलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरू कानुन मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गरे । उनले सरकारले संसद्को नियम र नियमावली समेत मिच्ने काम गरिरहेको आरोप लगाए ।

उनले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रस्तुत भइरहेको समेत उल्लेख गरे । उनले देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरू बढिरहेको भए पनि अपराधीहरू दण्डित नभएको जिकिर गरे । उनले समाजमा विद्यमान समस्याहरुको समाधान गर्न पार्टी संगठनलाई थप बलियो बनाउँदै लैजानुपर्ने  बताए ।

उनले पार्टीबारे समाजमा विभिन्न कुप्रचारहरु गरिएको उल्लेख गर्दै त्यस्ता कुप्रचारको भ्रममा नेपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?