काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।
उत्तर प्रदेश राज्यको प्रयागराजमा आयोजना हुन लागेको कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुन जान लागेका देउवाको भ्रमण अन्तिम समयमा रद्द भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा आज भारत जाने तय भए पनि अन्तिम समयमा उनको भ्रमण रद्द भएको बताए ।
सभापति देउवा आज बिहीबार चार बजे एयर इन्डियामार्फत भारत जाने तयारीमा थिए । भारत भ्रमणको क्रममा देउवा महाकुम्भमा स्नान गर्ने र त्यहाँबाटै नयाँ दिल्ली जाने कार्यक्रम तय भएको थियो । तर भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश मन्त्री एस.जयशंकर कसैसँग पनि भेटवार्ता नमिल्ने भएपछि कांग्रेस सभापति देउवाले कार्यक्रम रद्द गरेको स्रोतको भनाइ छ ।
नेपाली कांग्रेस नेतृत्व र सत्तारुढ विजेपी नेतृत्वबीचको सम्बन्ध पछिल्ला दिनमा चिसिएको चर्चा भइरहेको छ । यहीबेला सभापति देउवाको भ्रमणसमेत रद्द हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया