काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि दुवै देशका कुटनीतिक नियोगहरुले चासो देखाएका छन् ।
काठमाडौंस्थित भारतीय दूतावासले निरन्तर समन्वय गरी दोषीमाथि कारबाहीका लागि पहल गरिरहेको जनाएको छ । उडिसा राज्य सरकार र त्यहाँका अधिकारीहरुसँग निरन्तर सम्वाद गरेर त्यहाँ रहेका अन्य विद्यार्थीहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिका साथ पढ्ने वातावरण मिलाउन लागिपरेको दूतावासले जनाएको छ ।
त्यस्तै उडिसा राज्य सरकारले समेत त्यस विषयमा जानकारी लिएको र विश्वविद्यालयका गार्डहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको समेत दूतावासले जनाएको छ । प्रहरीले केआईआईटी सुरक्षाकर्मीहरूले विद्यार्थीहरूमाथि गरेको दुव्र्यवहारको बारेमा ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ ।
त्यहाँ रहेका अन्य विद्यार्थीहरुको सहयोगका लािग उडिसा प्रहरीले विभिन्न हेल्पलाइन नम्बरहरु सञ्चालन गरेको छ । उडिसा राज्य सरकारले नेपाली विद्यार्थीहरू सहित सबै विद्यार्थीहरूको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चाल्ने दूतावासले जनाएको छ ।
त्यसो त प्रकृतिको मृत्युपछि होस्टेलमा रहेका केही व्यक्तिहले नेपाली विद्यार्थीहरुमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । चौतफी दबाबपछि केआईआईटीले दुई सुरक्षा गार्डहरूको सेवा पनि समाप्त गरेको छ, र दुई वरिष्ठ छात्रावास अधिकारीहरूलाई निलम्बन गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ अधिकारीलाई अनुसन्धानको लागि विचाराधीन सोधपुछ गरेको छ ।
यता केआईआईटीका उपकुलपतिले आफ्ना कर्मचारीहरूको टिप्पणी र व्यवहारको लागि खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेका छन् र सबै नेपाली विद्यार्थीहरूलाई नियमित शिक्षामा सामेल हुन अपील गरेका छन् ।
लामो समय मानसिक तनाव दिइएपछि प्रकृतिले फेब्रेवरी १६ मा आत्महत्या गरेकी थिइन् । उनलाई मानसिक तनाव दिने एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया