काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूलाई सभामुखले गम्भीर विषयमा बोल्न नदिएको भन्दै संसद् छाडेर हिँडेकी छन् ।
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्युबारे कुरा उठाउन पूर्वमन्त्री समेत रहेकी सांसद श्रेष्ठले समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले भने समय उपलब्ध गराएनन् ।
‘मान्य सदस्यलाई मैले समय दिएको छैन । यहाँबाट मैले समय नदिइन बोल्न पाइँदैन । समय लिएर मात्रै बोल्न पाइन्छ भन्ने हाम्रो नियमावलीमा नै व्यवस्था रहेको छ,’ सभामुखले भनेका थिए ।
सभामुखले समय नदिएपछि आफ्नो स्थानमा उभिएर सांसद श्रेष्ठले पटकपटक समयको माग गरिन् । तर सभामुखले नियमावलीमा व्यवस्था नभएको र आफूले समय नदिएको भन्दै बस्न आग्रह गरे ।
सभामुखले बोल्न नदिएपछि सांसद श्रेष्ठ संसद् भवनबाट बाहिरिइन् ।
उक्त विश्वविद्यालयमा पढ्ने अन्य विद्यार्थीहरुलाई विश्वविद्यालयले गरेको व्यवहारबारे अडियो पठाउँदै आफूहरुको कुरा संसद्मा राख्न आग्रह गरेका थिए । उक्त अडियो आफ्नो फेसबुक पेजमा राख्दै उनले आफूले गम्भीर विषयमा संसद्मा कुरा राख्न चाहँदा समेत सभामुखले समय नदिएको भन्दै आपत्ति जनाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया