पत्रकारले सोध्ने प्रश्नबारे सूर्य थापाले संसद्मा उठाए प्रश्न

लोकपथ
595
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले पत्रकारहरुले आफ्नो आचारसंहिता विपरित प्रश्न सोध्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले पत्रकारहरुले प्रधानमन्त्रीदेखि सांसदहरुसम्मलाई गैरजिम्मेवार प्रश्न गर्ने गरेको भन्दै आपत्ति जनाए ।

‘मिडिया व्यवस्थापन संसदको कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रूपमा जोडिएको छ । सांसदहरूलाई कस्ता प्रश्न सोध्ने ? ती प्रश्न संविधान कानुनबमोजिम हुनुपर्छ कि पर्दैन रु अथवा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित भएर आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाइँदैन,’ उनले भने, ‘आफैँले भोगेको र हिजो प्रधानमन्त्री लक्षित गरेर गरिएको प्रश्नप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो । नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ?’

उनले संसद् सचिवालयको अनुमतिले रिपोर्टिङका लागि आएका पत्रकारहरुले संविधान, कानुन र पत्रकार आचारसंहितामा रहेर प्रश्नहरु सोध्ने नगरेको आक्रोश व्यक्त गरे ।

‘संसद् सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका साथीहरूले संविधान कानुन, पत्रकार आचारसंहिता समाजिक शिष्टाचार कुरालाई ध्यान नदिइ गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ? म यो कुरा सोध्न चाहान्छु,’ थापाले भने ।

त्यस्तै आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसद प्रभु शाहले सोधेको प्रश्नको विषयमा समेत आपत्ति जनाए । प्रधानमन्त्रीलाई सिधै आरोपित गर्ने गरी प्रश्न गरिएको भन्दै त्यसमा प्रतिनिधि सभा नियमावलीको विपरित प्रश्नहरु सोधिएको भन्दै कारबाहीको भागीदारका लागि नियमावली आकर्षित हुनेतर्फ सचेत समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?