काठमाडौं । करिब ३ महिना अगाडि कुलेश्वरमा रहेको इलेक्ट्रोनिक्स पसलमा एक युवती बिग्रेको राइसकुकर लिएर पुगिन् । बिग्रेको राइसकुकर मर्मत गर्न भनेर पुगेकी ती युवतीको राइसकुकर रिसिभ गरी मर्मत भएपछि बोलाउने भन्दै सञ्चालकले युवतीको सम्पर्क नम्बर लिए भने आफ्नो भिजिटिङ कार्डसमेत दिए ।
बिग्रेको राइसकुकर मर्मत भएपछि मेकानिकले युवतीलाई सम्पर्क गरी राइसकुकर मर्मत भएकाले लिन आउन भने । युवती मर्मत भएको राइसकुकर लिन आइन् र केही समय कुराकानी भयो । त्यसपछि युवती राइसकुकर लिई धन्यवाद भन्दै घर गइन् ।
त्यसको लगत्तै युवती उक्त इलेक्ट्रोनिक्स पसलमा बारम्बार आउन थालिन् । युवती पनि कुलेश्वर नै बस्ने भएकाले प्रत्येक दिन जसो उनी उक्त इलेक्ट्रोनिक्स पसलमा आउने गर्थिन् ।
बारम्बारको भेटघाटले अब युवती र इलेक्ट्रोनिक्स सञ्चालक नजिकिएका थिए । युवतीको उमेर २८ वर्षको थियो भने इलेक्ट्रोनिक्स सञ्चालक करिब ५० वर्षका थिए । इलेक्ट्रोनिक्स सञ्चालकको श्रीमती र बालबालिका पनि थिए भने ती युवतीको पनि विवाह भइसकेको (युवतीका अनुसार) थियो । यद्यपि उनीहरू ‘प्रेम’मा पर्न थालिसकेका थिए ।

दुबै जना ‘प्रेम’मा परेपछि उनीहरू चिया तथा खाजा खान र कहिलेकाहीँ बिरयानी खान रेस्टुरेन्टहरूमा जान थालेका थिए । पुरुष मदिरा सेवन नगर्ने भए पनि युवती भने मदिराको अम्बली थिइन् र मदिरा पिउन रुचाउँथिन् । त्यसको खर्च भने ती पुरुषले तिर्ने गरेका थिए ।
कुराकानीकै क्रममा पुरुषले कमाई राम्रो भएको र १०-१५ लाखलाई समस्या नहुने बताएका थिए । आत्मीय भएपछि पुरुषले बताएको त्यही कुरा पछि पुरुषलाई नै गलपासो बन्यो ।
दुबै जना प्रेममा परेपछि करिब १० दिन अगाडि पुरुष र ती युवती बस्ने भन्दै सिनामंगलको एक होटेलमा पुगे …..
दुबै जना प्रेममा परेपछि करिब १० दिन अगाडि पुरुष र ती युवती बस्ने भन्दै सिनामंगलको एक होटेलमा पुगे । यद्यपि उनीहरू केही समय मात्रै बसेर फर्किएका थिए । उनीहरूको शारीरिक सम्पर्क नभएको र काम विशेषले तत्कालै फर्किनुपरेको ती पुरुषले प्रहरीसमक्ष दिएको उजुरीमा उल्लेख छ ।
१० लाख रुपैयाँ नदिए जबरजस्ती करणीको कसुरमा मुद्दा हाली १५ वर्ष जेलमा पठाइदिने धम्की …….
तर होटेल पुगेर फर्किएको केही समयमै युवतीको रूप फेरियो । अब युवतीले ती पुरुषसँग बार्गेनिङ गर्न थालिन् । आफूलाई १० लाख रुपैयाँ नदिए जबरजस्ती करणीको कसुरमा मुद्दा हाली १५ वर्ष जेलमा पठाइदिने धम्की दिन थालिन् । त्यसबाहेक आफूले १० लाख क्षतिपूर्ति समेत पाउने भन्दै रकम दिन धम्की दिन सुरु गरिन् । पुरुषले आफू सामान्य मेकानिक भएकाले त्यति रकम दिन नसक्ने बरु एक दुई लाखसम्म भए दिन बताए । तर युवती १० लाखबाट टसमस भइनन् । पैसा नदिए बलात्कारको कसुरमा जाहेरी दिने र होटेलमा लगेको प्रमाण समेत आफूसँग भएकाले बलात्कारको मुद्दा ठहर हुने धम्की दिन थालिन् ।
युवतीको धम्कीपछि ती पुरुषले बल्ल बुझे, युवतीकै जोड बलमा होटेल पुगेका उनलाई शारीरिक सम्पर्कका लागि नभएर बार्गेनिङ गर्ने प्रयोजनमा प्रमाण जुटाउन मात्रै होटेल लगिएको थियो ।
युवतीले बारम्बार धम्की दिएपछि ती पुरुषले युवतीको फोन रेकर्ड गरे र उक्त रेकर्डसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगे । प्रहरीलाई घटनाको बेलिबिस्तार लगाए अनि फोनको रेकर्डसमेत दिए ।

ती अधबैँसे पुरुषलाई १० लाखको बार्गेनिङ गर्ने युवती थिइन्, चितवनको रत्ननगर ८ घर भएकी २८ वर्षीय अस्मिता आचार्य । कुलेश्वरमै बस्ने अस्मिताले बारम्बार बलात्कारको कसुरमा फसाइदिने भन्दै १० लाख रुपैयाँको बार्गेनिङ गरेपछि पुरुषले प्रहरीमा दिएको जाहेरीपछि प्रहरी सक्रिय बन्यो ।

त्यसपछि प्रहरीले नै प्रमाण सङ्कलनका लागि पुरुषलाई अस्मिताका नाममा चेक दिन भने । पुरुषले अस्मितासँग बार्गेनिङ गर्दै अहिले ३ लाख रुपैयाँको चेक दिने र एक महिनापछि ७ लाख रुपैयाँ दिने भने । पुरुषको प्रस्तावमा अस्मिताले सहमति जनाइन् । त्यसपछि माघ २२ गते दुई जना भेटेर तत्काल तीन लाख रुपैयाँको चेक लेनदेन गर्ने विषयमा सहमति भयो ।
तीन लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा कुलेश्वरको बर्गर हाउसबाट माघ २२ गते अपराह्न ४:३० बजे पक्राउ ….
यता पुरुषले प्रहरीलाई घटनाको सम्बन्धमा सबै कुरा जानकारी दिँदै तत्काल तीन लाख रुपैयाँको चेक दिन लागेको बताए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी रोशन खड्का नेतृत्वको प्रहरी टोलीले ती पुरुषको नाममा रहेको नबिल बैंकको खाताको तीन लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा अस्मिता आचार्यलाई कुलेश्वरको बर्गर हाउसबाट माघ २२ गते अपराह्न ४:३० बजे पक्राउ गर्यो ।

आचार्यलाई तत्काल पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा ल्याएर सोधपुछ गर्दा अस्मिताले आफूले बार्गेनिङ गरेको र यसमा आफू मात्रै सामेल रहेको प्रारम्भिक बयान दिइन् ।
अस्मिताले ढाँटिन् आफ्नो पढाई
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बयान दिने क्रममा अस्मिताले आफूले सफ्टवारिका कलेजबाट बिएससी आइटी पास गरेको भनी बयान दिएकी छिन् । साथै आफू अहिले बाहिर जाने तयारीमा रहेको समेत बताएकी छिन् ।
तर अस्मिताले बताए अनुसार सफ्टवारिका कलेजमा बिएस्सी आइटीको विद्यार्थीको सूचीमा अस्मिता आचार्यको नाम नै छैन । सफ्टवारिका कलेजसँग कुराकानी गर्दा रत्ननगर ८ चितवनकी अस्मिता आचार्य नाम गरेकी विद्यार्थी आफूहरूको कलेजको लिस्टमा नरहेको जनाएको छ ।
अस्मिताले प्रहरीसँगको बयानमा आफूले बिएस्सी आइटी पढेको दाबी गरे पनि उनी आफैँले तयार पारेको वैयक्तिक विवरण (सिभी)मा भने बिबिए प्रथम वर्ष अध्ययन गरेको उल्लेख गरेकी छिन् । उनले कहीँ जागिरका लागि भरेको फारममा उनले आफ्नो शिक्षा बिबिए प्रथम वर्ष रहेको उल्लेख गरेकी हुन् ।
श्रीमान् अस्ट्रेलियामा, श्रीमती हनी ट्रयापिङमा !
अस्मिताले आफूले डेढ वर्ष पहिले विवाह गरेको र आफ्ना श्रीमान् हाल अस्ट्रेलियामा रहेको बताएकी छिन् ……….
हनी ट्र्यापको कसुरमा पक्राउ परेकी अस्मिताले आफूले डेढ वर्ष पहिले विवाह गरेको र आफ्ना श्रीमान् हाल अस्ट्रेलियामा रहेको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएकी छिन् । साथै आफू पनि अस्ट्रेलिया जाने तयारीमा रहेको दाबी गरेकी छिन् । अस्मिताले बयान दिने क्रममा ती पुरुषसँग चिनजान भएपछि खाजा खान जाने गरेको र २ हजार रुपैयाँ सापटी समेत लिएको बताएकी छिन् । पछिल्लो पटक ती पुरुषले खाजा खान भन्दै बोलाएर सिनामंगलको होटेलमा पुराएको अस्मिताले बयानमा उल्लेख गरेकी छिन् । होटेलमा पुगेपछि आफूलाई मदिरा खुवाएको र शारीरिक सम्पर्कको प्रस्ताव राखेको बताएकी छिन् ।
तर आफूले शारीरिक सम्पर्क राख्न नमानी प्रहरीमा खबर गर्छु भन्दा पुरुष आफैँले बरु पैसा दिन्छु, प्रहरीमा खबर नगरिदिनु भनेपछि आफू पैसा लिन तयार भएको बयान दिएकी छिन् । आफूलाई १० लाख रुपैयाँ दिने भनी फकाएको र सुरुमा ३ लाख रुपैयाँ दिने भनेपछि आफू उक्त रकम बराबरको चेक लिन जाँदा प्रहरीले पक्राउ गरेको बताएकी छिन् ।
हनी ट्रयापिङको कसुरमा पक्राउ परेकी अस्मितालाई आपराधिक लाभको कसुरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया