प्रधानको अवकाशसँगै सशस्त्रमा डीआईजीको तीन पद रिक्त, ‘ज्वाइँ’ लाई क–कसको डर ? 

लोकपथ
7.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) किशोर प्रधान आज मंगलबारदेखि अनिवार्य अवकाशमा गएसँगै सशस्त्रमा डीआईजीको रिक्त संख्या तीन पुगेको छ । ९ नम्बर बाहिनीका बाहिनीपतिसमेत रहेका प्राविधिक पृष्ठभूमिका प्रधानको अवकाशसँगै सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको डीआईजी बढुवा अघि बढ्ने देखिएको छ । डीआईजी प्रधान चार जोड एकका कारण सेवा प्रवेशको २६ वर्षमै अवकाशमा गएका हुन् । अन्तिम समयसम्म पनि अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप हुने र आफू एआईजी बन्ने सपना देखेका उनी अन्ततः निराश हुँदै अवकाशमा गएका हुन् । सोमबार साँझ सशस्त्र मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई बिदाइ समेत गरिसकिएको छ । 

गत भदौ १६ गतेदेखि ३० वर्षे सेवाअवधिका कारण अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाशमा गएसँगै १६ मध्ये दुई डीआईजीको पद खाली थियो । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी अधिकृतहरूको धमाधम बढुवा भइरहेका बेला सशस्त्रमा भने पद संख्या कम र दाबेदार बढी भएकाले बढुवा प्रक्रिया नै गिजोलिँदै आएको थियो । तर प्रधानको अवकाशपछि पनि बढुवा प्रक्रिया सहज ढंगले अघि बढ्छ भनेर भन्न सकिने अवस्था भने छैन । 

सशस्त्र प्रहरीमा अहिले डीआईजीका लागि प्रमुख दाबेदारहरू हुन्– नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका सबैभन्दा सिनियर कृष्णराज पाठक, त्यसपछि सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका मनिष थापा र कृष्णराज ढकाल, सिसं २ बेसिकका दीपेन्द्र कुँवर (ख), विष्णुप्रसाद भट्ट, दिग्विजय सुवेदी, कमल तिउसिना, नीरकृष्ण अधिकारीलगायत । 

सिसम १ सशस्त्र प्रहरी निरीक्षक टोलीका ९ जनामध्ये पाँच जना डीआईजी भइसकेका छन् । बाँकी चार जनामध्ये थापा र ढकाल दाबेदार छन् । विनोदराज श्रेष्ठ र प्रकाश थापा भने स्टाफ कलेज गर्न नसकेकाले डीआईजीको दौडमा छैनन् । 

थापा र ढकाल भन्दा पाठक सिनियर भएकाले उनलाई यो पटक छुटाउन नहुने मत यो पटक बलियो बनेको छ । पाठक तिनै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन्, जो डीआईजीको दुई पटकको बढुवामा छुटिसकेका छन् । झापा घर भएका पाठकलाई यो पटकको बढुवामा नछुटाउन प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरे उभिएको स्रोतको दाबी छ ।

प्रधान अवकाशमा गएसँगै डीआईजीको तीन ओटा पद  रिक्त हुँदा सिसम १ का दुई जना थापा र ढकाल, यसअघि दुई पटक छुटिसकेका पाठकलाई बढुवा गर्न कुनै समस्या छैन । तर, यसका लागि सशस्त्र प्रहरी संगठनभित्रै सदाबहार ज्वाइँ भनेर चिनिएका एसएसपी दीपेन्द्र कुँवर (ख) तगारो बनेका छन् । 

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ कुँवरले दुई ओटा पद रिक्त हुँदा नै आफूलाई बढुवा गर्न दबाब दिएको यसअघि नै खुलासा भइसकेको छ । तर त्यतिखेरको सो दबाबलाई सहजै पन्छाएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई अहिले भने बढुवामा उनलाई छुटाउनु फलामको चिउरा साबित हुने अहिले नै चर्चा हुन थालेको छ । 

कुँवर तिनै पात्र हुन्, जसले सिसम १ टोलीका कारण आफू बढुवा नहुने निश्चित भएपछि डीआईजीको दरबन्दी थप गरेर आफ्नो बढुवा निश्चिन्त गर्न खोजेका थिए । तर, अर्थ मन्त्रालय सकारात्मक नहुँदा उनको सो योजना पनि फेल खाएको थियो ।

दरबन्दी थप्ने प्रयास पनि खेर गएपछि उनी चार जना डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको चार जोड एक नथप्न कम्मर कसेर लागेका थिए  । उनको यो गैरव्यावसायिक आचरणले सशस्त्र प्रहरी नै डीआईजीको म्याद थप्नुपर्ने/थप्न नहुने पक्षमा ध्रुवीकृत भएको थियो । यी चार डीआईजीको म्याद तीन घण्टा मात्र बाँकी रहँदा सरकारले थप गर्ने निर्णय लिएको थियो ।

अहिले कुँवरलाई बढुवा गर्न खोज्दा सशस्त्र प्रहरी मुख्यालयमा फेरि अर्को कम्पन आउने निश्चित छ । किनभने कांग्रेस सभापति देउवाले ज्वाइँ कुँवरलाई बढुवा गर्न दबाब दिँदा प्रधानमन्त्री कार्यालयले एसएसपी विष्णुप्रसाद भट्टको नाममा पनि अडान लिन सक्छ । नुवाकोट निवासी भट्टलाई प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको दरिलो समर्थन रहँदै आएको सशस्त्र मुख्यालयमा चर्चा चल्ने गर्छ । 

एकथरि, कुँवर र भट्टमा तुलना नै गर्न नमिल्ने बताउँछन् । व्यावसायिकता र कार्यसम्पादनमा कुँवर भन्दा भट्ट धेरै अगाडि छन् । भट्ट सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सम्म आफ्नो ब्याचमा सधैँ पहिलो नै रहे । सशस्त्र प्रहरी निरीक्षकमा सेवा थाल्दा अन्तिम अन्तिम नम्बरमा रहेका कुँवर भने सत्ता र शक्तिको आडमा उनै भट्टलाई पछि पार्दै आफ्नो ब्याचीमध्ये एसएसपीमा एक नम्बरमा आएका हुन् । भट्ट अहिले आफ्नो क्षमताका कारण यूएन मिसनमा कार्यरत छन् । तर कुँवर भने ठेक्कापट्टाको चलखेल हुने प्रबन्ध शाखामा तीन वर्षदेखि राज गर्दै आएका छन् । उनीमाथि प्रबन्ध शाखामा रहेर अकुत सम्पत्ति जोडेको आरोप छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एकै व्यक्तिलाई लगातार तीन वर्ष प्रबन्ध शाखाको जिम्मेवारी किन दिए भन्ने प्रश्न पनि उब्जिएको छ ।  

यो पनि

प्राविधिक पृष्ठभूमिका डीआईजी प्रधानलाई नयाँ दरबन्दी नै थपेर एआईजी बनाउन चलखेल

प्रहरी विधेयकमा गृहमन्त्री लेखकको मनमौजी, सुझाव बेवास्ता गरिएको भन्दै दुवै संगठनमा असन्तुष्टि

सशस्त्र प्रहरीमा ‘ज्वाइँ’ को जहिले पनि रजगज

सशस्त्रको वार्षिकोत्सवको मुखैमा मधेस प्रदेशका बाहिनीपति डीआईजी धौबजीमाथि मुख्यालयको ‘एक्सन’

सशस्त्रमा चार डीआईजीको म्याद थप्ने र रोक्ने खेलमा कसले मार्ला बाजी ?

सशस्त्रका एसपी डाँगीले बाँकेमा केसम्म गरेनन् ?

डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री
स्पष्टीकरणका लागि प्रधान कार्यालय बोलाइएका सशस्त्रका एसपीहरुलाई यो शर्तमा जान दिइयो कार्यक्षेत्र

सशस्त्रमा ‘यूएन मिसन उत्कृष्ट कर्मचारी छनौट’मा चरम बदमासी

ओली सरकारले यसरी बढायो सशस्त्रमा गैरव्यवसायिक खिचातानी

डीआईजी धौबजीको अर्काे कर्तुत : भारतीय समकक्षीसँगको बैठकको खर्चसमेत गणपतिहरुबाट असुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?