कमल थापा नेतृत्वको राप्रपाद्वारा प्रदर्शन (तस्बिरहरु)

लोकपथ
156
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विभिन्न मागसहित काठमाडौंमा दबाबमूलक प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित काठमाडौंमा दबाबमूलक कार्यक्रम गरेको हो ।

प्रदर्शनपछिको कोण सभामा अध्यक्ष थापाले राजनीतिक अस्थिरता र अराजकता नै गणतन्त्रको उपलब्धी हो भन्दै प्रश्न गरे । छोटो समयमा नै नेपालको राजनीतिमा धेरै घटनाहरु भएको भन्दै उनले गणतन्त्रका प्रमुख संवाहक प्रधानमन्त्रीलाई प्रश्न गरे ।

उनले भने, ‘हिजो संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने नाटक भइरहेको थियो । १५ महिनाको बीचमा प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिइराख्नु भएको छ । १४ महिनामा ४ वटा गठबन्धन, १३ पटक मन्त्रिपरिषद्को पुनःगठन, ४३ जना मन्त्रीहरुको नियुक्ति, यति छोटो समयमा यो सबै हुनु यही नै हो गणतन्त्रको महान उपलब्धि ? म गणतन्त्रका प्रमुख संवाहक प्रधानमन्त्रीलाई सोध्न चाहन्छु । यही अस्थिरता र अराजकता नै गणतन्त्रको उपलब्धि हो, म देउवा र केपी ओलीलाई सोध्न चाहन्छु ।’

यस्तै, उनले यो आन्दोलन कुनै पार्टी वा नेताको विरुद्धमा नभइ १७ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था, सांसद र फोहोरी राजनीतिविरुद्ध भएको पनि बताए ।

उनले भने, ‘हाम्रो यो आन्दोलन कुनै पार्टी वा नेताका विरुद्धमा होइन र सरकारको विरुद्धमा पनि होइन । यो आन्दोलन देशको १७ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट सांसद र फोहोरी राजनीतिबाट देश र जनतालाई मुक्तिको लागि हो ।’

देश अभिभावकविहीन भएको भन्दै यसकारण छाडातन्त्र, मनपरीतन्त्र र सिन्डिकेट बनाएर राष्ट्रिय ढुकुटी रित्ताउने काम भइरहेको दाबी गरे ।

उनले नयाँ गृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेले ललिता निवासमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीलगायत अन्य घटनामा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउनुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?