काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको नयाँ सत्ता समीकरण बनाए पनि कांग्रेस अझै गठबन्धन जोगाउने पक्षमा रहेको पाइएकोे छ ।
प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन बनाएर जाने तयारी गरेसँगै कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले भोलि कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार अझै पनि गठबन्धनलाई जोगाउने विषयमा छलफल भएको र भोलिको कार्यसम्पादन समितिको निर्णयपछि मात्रै कांग्रेसले मन्त्रीहरुलाई फिर्ता बोलाउनेछ ।
‘हामी अझै पनि यही गठबन्धनलाई अघि लैजानुपर्छ भन्नेमा छौँ । प्रधानमन्त्री ज्यूले भोलिसम्म के गर्नुुहुन्छ त्यो हेर्छौँ ।’ उनले भने, ‘भोलिका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । भोलिको बैठकले निर्णय गरेपछि मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय हुन्छ ।’
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका सन्दर्भमा भागबण्डा नमिलेपछि प्रधानमन्त्रीले एमालेसहितका दलहरुलाई मिलाएर नयाँ सत्ता समीकरण बनाएका छन् । एमालेबाट एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याल मन्त्री बन्दैछन् । आजै साँझ ५ बजे राष्ट्रपति कार्यालयमा सपथ ग्रहणका लागि कार्यसूची तोकिएको छ । नयाँ बन्ने मन्त्रीहरुको लिस्ट लिएर केहीबेरअघि शीतल निवास पुगेका प्रधानमन्त्री नयाँ सत्ता समीकरणबारे छलफल गरेर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया