मिटरब्याज पीडित भन्छन् : ‘गाउँ फर्के बैंकले समात्छ, साहूले मार्छ’

लोकपथ
1.5k
Shares

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाकी चैनियादेवी बिन मुखिया काठमाडौं उत्रिएको तीन दिन भयो । दुई साता पैदल हिंडेर काठमाडौं आएकी उनी मिटरब्याज पीडित हुन् ।

उनले साहुबाट सुरुमा ३ लाख ६५ हजार ऋण लिएको थिइन् । तर साहुले मिटरब्याजी हिसाबले उक्त ऋणको ब्याज जोडेर ९ लाख ९५ हजारको तमसुक बनाएर हस्ताक्षर गराए । त्यसपछि उनी घरवीहिन भइन् ।

साहूले ९ लाख ९५ हजार बराबरको नौं धुर जग्गा लिए । चैनियादवीको घर पनि त्यही जग्गामा भएकाले घर र जग्गा दुबै साहूले कब्जा गरिदिए । ‘कब्जा गरेको घर, जग्गा बराबरको पूरा पैसा दिए मात्रै फिर्ता दिन्छु नत्र दिन्न भन्छन् साहू’, उनले भनिन् । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय पुगिन् । उजुरी दिइन् तर सुनुवाइ भएन् ।

विन्दु चौधरी भन्ने साहूबाट पीडित चैनियादेवी घरबारवीहिन भएपछि सरकारसँग न्यायको माग गर्दै उनी काठमाडौंसम्म आइपुगेकी हुन् ।
‘सरकारले घर फिर्ता नगर्ने हो भने वा बस्ने स्थानसम्मको व्यवस्था नभए म यहीं मर्न तयार छु । सडकमै सुत्न तयार छु,’ उनले भनिन् ।

घरमा बालबच्चालाई छाडेर न्यायको खोजीमा काठमाडौं आएकी उनलाई सरकारले केही गर्छ भन्ने आशा थियो तर पछिल्ला तीन दिनमा केही प्रगति नभएको उनको दुखेसो छ ।

उनले भनिन्, ‘महाजन विन्दु चौधरीसँग ३ लाख ६५ हजार लिएको हुँ । ३ लाख ६५ हजारको ९ लाख ९५ हजार व्याजसहित तमसुकमा हस्ताक्षर गर्न लगाउनुभयो । हस्तक्षर गरेपछि गरेपछि नौं धूर जग्गा उहाँको नाममा गयो । घर जग्गा उहाँले नै अदालतमा केश हालेर जित्नुभयो । पूरा पैसा दिए मात्रै घरजग्गा फिर्ता दिन्छु भन्नुहुन्छ नत्र दिन्न भन्नुहुन्छ ।’

‘जिल्लाको पुलिसले केही गरेन । विन्दु चौधरी नै हो हामी माथि अत्याचार गर्ने, हामीसँग बस्न घर छैन । हामीलाई घरबाट निकालिदियो । प्रक्रिया मिलाएर हाम्रो हाम्रो घर फिर्ता गरिदिनु, हामीमाथि धेरै अत्याचार भएको छ । यस्तै, हो भने हामी घरमै फाँसी लगाएर वा विष खाएर मर्नपर्छ । हाम्रो जाने स्थान पनि छैन्,’ उनले विलौना सुनाइन् ।

उस्तै पीडा छ महेन्द्रनगरकी पवित्रादेवी मण्डलको परिवारको पनि । न्याय पाइन्छ की भन्ने विश्वासका साथ आएकी उनी पनि सरकारले केही गर्न नसकेको गुनासो गर्छिन् । ‘यो सरकार घुस लिएर हामी सबैलाई मार्नेतर्फ लागि रहेको छ,’ उनले भनिन् ।
‘हामी त्यतिकै काठमाडौं आएका होइनौं । धेरै पीडा बोकेर आएका छौं । बैंक र गाँउ दुवैबाट पीडित छौं’, उनले भनिन्, ‘यस्तो पीडा सरकारले किन सुन्दैन् ? बस्ने ठाउँ किन दिंदैंन् ? हामी रोडमा छौं ।’

‘गाँउमा गयो भने महाजन र बैंकले मार्छ भन्ने त्रास छ । सरकारसँग ६ बुदेँ माग राखेका छौं पुरा गरिदिनुपर्यो नि । माग नभएसम्म हामी यहीं बस्छौं, यहीं मर्छौ,’ उनले भनिन् ।

धनुषाको धनुषाधाम नगरपालिका २ का जुगेन्द्र यादव पनि उस्तै समस्याबाट पीडित छन् । उनलाई साहूले दिनुहुँ धम्क्याउने र तर्साउने गरेको बताउँछन् । ‘जग्गा राखेर ३६ प्रतिशत ब्याजदरले दुई करोड पाँच लाख रुपैयाँ तिरेको छु । पहिला तीन प्रतिशतमा लोन लिएको हो अहिले बढाएर १३ –१४ प्रतिशत पु¥याएको छ’, उनी भन्छन् ।

‘अहिले जग्गा बैंकले धमाधम लिलामी गरिरहेको छ । धमक्याउने–तर्साउने गरिरहेको छ । दलालहरु घरमा पठाउँछ र धम्याउने काम भएको छ । एक लाखको पाँच पाँच लाखसम्म बनाएको छ,’ उनले दुखेसो सुनाए ।

पाँच लाख लिनेहरुको ३० लाख रुपैंयाँसम्म पुर्याएको, साहुलाई पटक पटक गर्दै ऋण दिइसक्दा पनि जग्गा फिर्ता नगरेको उनको भनाइ छ । पीडित झनै पीडित भइरहेको, कानुन पालना नभएको र सरकारले पनि पीडितको मर्का नबुझेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?