कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

लोकपथ
49
Shares


गोदावरी । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल सुरू हुँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका छन् ।

बुधबार ती प्रस्तावहरूमाथि छलफल सुरु हुन लागेको हो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको भावी नीति र रणनीति, महामन्त्री गगनकुमार थापाले संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका छन् भने अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पार्टीको लेखा प्रतिवेदन छलफलका लागि पेश गरेका छन् ।

पाँच वटै प्रस्तावहरूमाथि बुधबारदेखि समूहगत छलफल प्रारम्भ हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।उनका अनुसार प्रस्तुत प्रस्तावहरूमाथि बुधबारदेखि चार वटा हलहरूमा छलफल हुनेछ ।

गोदावरी हलमा कोशी र सुदूरपश्चिम, कोञ्ज्यासोम हलमा लुम्बिनी प्रदेश र भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फुलचोकी हलमा बागमती र गण्डकी प्रदेश, बिशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ । समूहगत छलफलबाट प्राप्त सुझावहरूमाथि छलफल गर्दै महासमिति बैठक बिहीबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?