प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव– ‘पूर्णरुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी र पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली’

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूर्णरुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन् । पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने र क्रियाशील सदस्यहरूले मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने पौडेलको प्रस्ताव छ ।

ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा नेता पौडेलले २८ बुँदे संकल्प प्रस्ताव पेश गरेका छन् । ८ पेजको सो संकल्प प्रस्तावलाई उनले महासमिति हलमा सबै प्रतिनिधिहरूलाई वितरण गरेका छन् ।

पार्टीको सदस्यतादेखि अन्य सबै प्रक्रिया र विवरणलाई अनलाइनमार्फत् गर्ने व्यवस्था गर्नुपर्ने र पारदर्शी बनाउनुपर्ने पौडेलको प्रस्ताव छ । त्यस्तै, पार्टीभित्र सबै तहको नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने, भ्रातृ संस्थामा मनोनयन गर्न नपाइने, भ्रष्टाचारमा सार्वजनिक दोषरोपण गरिएका प्रकरणहरुमा निष्पक्ष व्यक्तिहरुलाई सहभागी गराएर पार्टी आफैँले दबाबविहीन अनुसन्धान गर्ने व्यवस्था गर्न संकल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै, पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले एक महिनाभित्र आफ्नो सम्पत्ति र त्यसको श्रोतको स्वघोषणा गर्ने, छ महिनाभित्र देश विकासको पाँच, दस र पन्ध्र वर्षे भिजन पेपर तयार गर्ने, भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित या छानविनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था गर्ने, वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म भएका वा कुनैपनि लाभको पदमा रहेका सदस्यको सार्वजनिक लेखा परीक्षण अनिवाय गर्न, समयमै महाधिवेशन गर्न, जनताले मतदान गर्ने कुनै पनि निर्वाचनमा अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न संकल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले पार्टीका मुख्य पदमा सदस्यबाटै चुनिने गरी विधान परिवर्तन गर्न र पार्टीलाई पूर्णरुपमा आमनागरिकमा आधारित मास बेस्ड पार्टीकारुपमा विकास गर्न समेत संकल्प गर्न प्रस्ताव गरेका छन् ।

बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तावकोरुपमा पेश गरेका दस्तावेजहरुमाथि आजदेखि छलफल हुँदैछ । चार वटा हलमा प्रदेशगतरुपमा रुपमा समूह विभाजन गरी छलफलको प्रबन्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?