काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलाइएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठकको बन्दसत्र सुरु हुन लाग्दा बाहिर स्टल नै बनाएर महासमिति सदस्यहरुले हस्ताक्षर अभियान चलाएका हुन् ।
हालसम्म ६ सय हाराहारीमा महासमिति सदस्यहरुले हस्ताक्षर गरेको वैदिन हिन्दू राष्ट्र महाअभियानका सहसंयोजक देवेन्द्रराज कंडेलले लोकपथलाई जानकारी दिए ।
‘हालसम्म ६ सय हाराहारीमा महासमिति सदस्यहरुले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गर्नुभएको छ । अझै धेरै साथीहरु हस्ताक्षरको लागि लाइनमा हुनुहुन्छ ।’ उनले भने ।
त्यस्तै सो अभियानमा कांग्रेस नेता डा. शंशाक कोइरालाले समेत हस्ताक्षर गरेको उनले बताए । यसअघिको महासमिति बैठकमा ७ सय बढी महासमिति सदस्यहरुले हस्ताक्षर गर्दा त्यसमा सामेल नभएका डा. कोइरालाले हस्ताक्षर गरेका हुन् । तर कांग्रेसका अन्य शीर्ष नेताहरुले भने त्यसमा हस्ताक्षर गरेका छैनन् ।
केहीदिन अघि कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा नेपाली कांग्रेसको वैदिक सनातनी हिन्दू राष्ट्र महाअभियान घोषणा गरेका थिए । महासमिति बैठकमा उक्त एजेण्डालाई प्रस्तुत गरी कांग्रेसले नै त्यसलाई एजेण्डा बनाउने कंडेलले बताए ।
सोमबारबाट गोदावरीमा कांग्रेसको महासमिति बैठक शुरु भएको छ । आज महामन्त्रीसहित अन्य पदाधिकारीहरुले प्रतिवेदन पेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया