प्रहरीको ‘डुन्की’ अप्रेशन : अमेरिकाको सपनामा बन्धक ११ जनाको उद्धार, यस्तो थियो गिरोहको प्लान

लोकपथ
665
Shares

काठमाडौं । रोजगारीका लागि आकर्षक गन्तव्य मानिएका अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत युरोपका विभिन्न देशमा लैजाने भन्दै बन्धक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सो सम्बन्धमा चलाएको ‘डुन्की’ अप्रेशन अन्तर्गत ११ भारतीय नागरिकलाई बन्धक बनाएको स्थानबाट उद्धार गरी बन्दक बनाउने ८ भारतीयको गिरोहलाई पक्राउ गरेको हो ।

बुधबार काठमाडौंको रातोपूलबाट पक्राउ गरी आज जिल्ला प्रहरी परिसर टेकुले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार सो गिरोहले गौशलामा एक घर भाडामा लिइ भारत लगायत अन्य देश (दुबई, कतार) मा रहेका भारतीयहरुलाई काठमाडौंमा ल्याइ बन्धक बनाएर राख्ने गरेका थिए ।

पीडितहरुलाई त्यहाँ ल्याएको केही दिनपछि उनीहरुसँग भएको पासपोर्ट, मोबाइल लगायत इलेक्ट्रिक डिभाइसहरु, अनिवार्य बोक्न भनिएको ३००० डलर लगायत सबै वस्तुहरु नियन्त्रणमा लिने गरेको प्रहरीले जनाएको छ ।

पीडितहरुलाई दबाबमा राखी नक्कली रुपमा खडा गरिएका ट्रान्जिट रुटहरुमा पर्ने देशको अध्यागमनको अराइभर÷डिपाचरको स्टयाम्पिङ, सम्बन्धित एयरलाइन्सको बोर्डिङपास टिकेटहरु भारतमा रहेका पीडितको आफन्तलाई पठाइ आफूहरु अमेरिका पुग्न लागेको भन्न दबाब दिने गरेका थिए ।

त्यतिमात्र नभइ उनीहरुलाई मानसिक यातना समेत दिइ अमेरिका प्रवेश गर्ने अन्तिम बिन्दु मेक्सिकोको भाषा, संस्कृती तथा कृतिम संगीत खडा गरी उनीहरु अमेरिका प्रवेश गर्न लागेको भन्दै भारतमा रहेको आफन्तहरुलाई भारतमा रहेका एजेन्टहरुको खातामा ४० लाख रुपैयाँ पठाउन दबाब दिने गरेका थिए । साथै उनीहरुलाई यातना दिइ आफूहरु त्यहाँ रमाइरहेको बताउन समेत लगाउने गरेको खुल्न आएको छ ।

उक्त गिरोहले फेक लोकेशन देखाउने मोबाइल एप्लिकेसन समेत प्रयोग गर्ने गरेका थिए, जसले पीडितहरुको लोकेशन मेक्सिको देखाउने गदैथ्यो ।

पक्राउ पर्ने भारतीय नागरिकहरुमा इन्दुसिंह यादव, निपुन गुप्ता, चरणजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिष कुमार मल्होत्रा, रवि मेवाडे, रामचन्द्र शर्मा रहेका छन् ।

उनीहरुको साथबाट ठूलो परिणाममा विभिन्न एयरलाइन्सका नक्कली बोर्डिङ पासहरु, पीडितका पासपोर्टहरु लगायत अत्यावश्यक कागजातहरु, मेक्सिकन तथा ब्राजिलियन समय देखाउने घडीहरु, केही थान ल्यापटपहरु, शारिरिक यातना दिन प्रयोग हुने पाइपहरुसहित विभिन्न देशका मुद्राहरु समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले आज जिल्ला प्रहरी परिसर टेकुमा उक्त गिरोहलाई सार्वजनिक गरी आवश्यक कारबाही अघि बढाएको छ ।

उनीहरुलाई मुलुकी अपराधसंहिता २०७४ को अपहरण तथा शरिर बन्धक सम्बन्धी महल अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?