२७ को मृत्यु, ६ सय ६८ जना घाइते, ज्यान गुमाउनेमा चार भारतीय

बारा–पर्सामा आइतबार गएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, १० महिला र ५ जना बालबालिका छन् । मृतक २७ मध्ये २५ जनाको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।

ज्यान गुमाउनेमा फेटा गाउँपालिकाका १३ जना छन् । फेटा–१ का हरिनारायण दास, मनोरमा देवी, रुनी देवी, नन्द पटेल, फेटा–६ का रुबी खातुन, बिबीमा खातुन, मुस्तकिमा खातुन, मीना खातुन, अलिसा खातुन, सकिया खातुन, सम्सिधा खातुन, सबनम खातुन र नोक्सारा मियाँ छन् ।

त्यस्तै भवानीपुर–१ का राम माझी र सुरज माझी, पर्सौनी–४ का अक्षयलाल माझी र कलैया–१८ की गढीमा देवीले ज्यान गुमाएका छन् । सुवर्ण–८ की तरिफा खान, महागढीमाई–७ की कोइरी देवी, सुवर्ण–४ का श्रीप्रसाद यादवको पनि मृत्यु भएको छ । पर्सा जिल्लाका एकजनाले ज्यान गुमाएका छन् । वीरगन्ज–१८ का सरोज रामको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा चारजना भारतीय नागरिक छन् । जसमा राजेश मुखिया, अवधेश पासवान, हितलाल सहनी र राधे लोडी छन् । उनीहरू इँटाभट्टाका कामदार हुन् । दुईजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । हावाहुरीले ६ सय ६८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । जसमध्ये २ सय ८४ जना सामान्य उपचारपछि घर फर्किएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?