स्वयम्भूमा डिएसपी पूर्णिमा : समुदायसँग हातेमालो गर्दै यसरी गर्दैछिन् अब्बल कमाण्ड

लोकपथ
25.8k
Shares

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो यतिबेला महानगरीय प्रहरी वृत्त स्वयम्भूको कमाण्ड गरिरहेकी छन् ।

सिंघम महिला प्रहरी अधिकृतको परिचय बनाएकी चन्दले २० भदौबाट स्वयम्भूको कमाण्ड सम्हालेकी हुन् । इन्स्पेक्टर हुँदादेखि नै केही नयाँ काम गरौँ, समाज र समुदायमा आफ्नो सकारात्मक प्रभाव छोडौँ भन्ने उर्जाका साथ मैदानमा उत्रिने चन्द अहिले पनि यही लयमा छिन् ।

नेपाल प्रहरीको एउटा नारा छ– प्रहरी मेरो साथी । हो, यतिबेला पूर्णिमा स्वयम्भू आसपासका नागरिकका लागि एक असल साथी बनिरहेकी देखिन्छिन् । जसलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले गरेका गतिविधिलाई नियाल्दा नै पर्याप्त हुन्छ । वृत्तले आफ्नो फेसबुक पेजमार्फत कार्यालयले गरेका गतिविधिका बारेमा नियमित अपडेट गर्छ । जो धेरैजसो समाज सुधारक क्रियाकलाप छन् ।

खासमा एउटा प्रहरी वृत्त इञ्चार्जको मूख्य जिम्मेवारी आफ्नो क्षेत्रभित्र शान्तिसुरक्षा कायम गर्ने हो । तर, पूर्णिमाको गतिविधि हेर्दा त्यतिमा मात्र सिमित देखिँदैन । उनी लागुऔषध, साइबर अपराध र लैगिंक हिंसा नियन्त्रण बारे प्रशिक्षण दिन विद्यालयदेखि आमासमूहसम्म पुग्छिन् । ज्येष्ठ नागरिकसँग अन्तरक्रियाका लागि टोल–टोलमा पुग्छिन् । अनि, शान्ति सुरक्षा कायम गर्न जोखिम क्षेत्रमा सिसिटिभी जडानदेखि महिला प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउनसमेत उनको सक्रियता देखिन्छ ।

गत असोज २० गते केयर फर केयर गिभर्स कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वत्त स्वयम्भू र ओम साइबाबा मेमोरियल अस्पतालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा वृत्त स्वयम्भू र जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको निःशुल्क पाठेघरको पानीको चेकजाँच तथा स्तन क्यान्सरको स्क्रिनिङ गरिएको थियो । जसलाई प्रहरी वृत्त स्वयम्भूले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएको छ ।

यतिमात्र होइन, उनले कार्यालयमा महिला प्रहरी र वृत्तमा आउने महिला सेवाग्राहीहरुलाई लक्षित गरी स्यानिटरी प्याड भेण्डिङ मेसिनसमेत राखेकी छन् । सम्भवत ः प्रहरी कार्यालयमा राखिएको यो नै पहिलो मेसिन हुन सक्छ ।

केही दिन अघि जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकको गुनासो र सुझाव संकलनका लागि क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको थियो । काठमाडौं परिसरले गत आइतबारबाट उक्त क्यूआर कोड सञ्चालनमा ल्याएको हो । जसलाई वृत्त र प्रभागमा लागू गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री बताउँछन् । खत्रीका अनुसार यतिबेला स्वयम्भू, बानेश्वर, बुढानिकण्ठ र कोटेश्वरमा क्यूआर कोड प्रविधि लागू भइसकेको उनले जानकारी दिए । ‘अब हामी सबै वृत्त र प्रभागमा क्यूआर कोड प्रणाली लागू गर्दैछौँ,’ उनले भने, ‘जसमार्फत नागरिकले प्रहरीको सेवाका बारेमा गुनासो र सकारात्मक पक्षका बारेमा लेख्न सक्नुहुनेछ ।’

काठमाडौं परिसरले गत आइतबारबाट क्यूआर प्रणाली लागू गरेको भएतापनि वृत्त स्वयम्भूले सेवा प्रवाहमा थप सुदृढीकरणका लागि भन्दै गत कात्तिक ३० गतेबाटै क्यूआर प्रणालीको सुरुवात गरेको थियो । ‘क्यूआर कोड स्क्यान गरी सुझाव दिनुहोला,’ क्यूआरको फोटो सार्वजनिक गर्दै स्वयम्भू वृत्तको फेसबुक पेजमा लेखिएको छ, ‘हजुरहरुको परिचय गोप्य राखिनेछ ।’

पछिल्लो समय काठमाडौं प्रहरीले प्रविधिको उच्चतम प्रयोग गरेर कामकारवाही गरिरहेको काठमाडौंका प्रमुख एसएसपी खत्री बताउँछन् । जसमा स्वयम्भूले उत्कृष्ट काम गरेको उनी स्वीकार्छन् । ‘स्वयम्भूको कमाण्डर इनर्जेटिक हुनुहुन्छ उहाँले प्रहरीको स्ट्याण्डर्ड कायम गर्नुभएको छ,’ लोकपथसँगको कुराकानीका क्रममा खत्री भन्दै थिए, ‘त्यो मानक सबैले कायम गर्न जरुरी छ ।’

स्वयम्भूकी कमाण्डर चन्दका गतिविधि यत्तिमै सिमित छैनन् । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमाथि बढ्दो असुरक्षालाई ध्यानमा राख्दै उनले भदौ ३१ गते आफ्नो कार्यक्षेत्रभित्र रहेका बैंकका म्यानेजरहरुसँग अन्तक्रिया गरेकी थिइन् ।

यसैगरी, प्राकृतिक लागुऔषधको सट्टा औषधिजन्य लागुऔषधको प्रयोग बढ्दै गएपछि त्यसलाई न्यूनिकरणका लागि उनले औषधि बिक्रेताहरुसँग अन्तक्रिया गरेकी छन् । आफ्नो क्षेत्रभित्र रहेका झण्डै ५२ जना औषधि विक्रेताहरु उक्त अन्तक्रिया कार्यक्रममा सहभागि भएको प्रहरी वृत्तले जनाएको छ । ५२ जना फार्मासिस्ट सहभागि सो कार्यक्रमममा चिकित्सक वा स्वास्थ्यकर्मीको प्रेस्किप्सनबिना कुनै पनि औषधि विक्री नगर्न चन्दले अनुरोध गरेकी थिइन् ।

यसैगरी, लैङ्गिक हिंसा सम्बन्धि १६ दिने अभियानअन्तर्गत विभिन्न विद्यालय तथा स्थानीय तहमा गएर उनले प्रशिक्षण दिइरहेकी छन् । वृत्तले गत मंसिर ५ गते नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइलास्थित सितापाइला माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको थियो । जसमा कक्षा, ८, ९ र १० का झण्डै ८५ जना विद्यार्थी रहेको वृत्तले जनाएको छ । शिक्षक शिक्षिकासमेत सामेल उक्त प्रशिक्षण कार्यक्रममा चन्दले प्रशिक्षित गराएकी थिइन् ।

त्यस्तै, गत मंसिर १२ गते वृत्तले नागार्जुन नगरपालिका वडा नम्बर ६ रामकोटस्थित सिताराम माविका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई प्रशिक्षित गराएको थियो । उक्त प्रशिक्षण कार्यक्रम वृत्त स्ययम्भू र विद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । जसमा झण्डै ८० जना प्रशिक्षार्थी सहभागि भएका वृत्तले जनाएको छ ।

त्यसैगरी, नागार्जुन नगरपालिका वडा नम्बर ७ रामकोटमै रहेको रत्नराज्य माध्यमिक विद्यालयमा पनि कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुलाई लैङ्गिक हिंसा, साइबर अपराध र लागुऔषध नियन्त्रण लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । प्रहरी नायब उपरीक्षक चन्दले दिएको प्रशिक्षणमा विद्यार्थी र शिक्षक शिक्षिकसहित झण्डै ८ जना सहभागि थिए । आज बिहिबार पनि चन्दले त्यसलाई निरन्तरता दिएकी छन् ।

उनले नागार्जुन नगरपालिकाको सहकार्यमा भिमढुंगाका झण्डै ८० जना महिलालाई लैङ्गिक हिंसासम्बन्धि प्रशिक्षण दिएकी छन् । जहाँ पूर्णिमाको कमाण्ड, त्यहाँ केही न केही नयाँ कामको थालनी गर्ने परिचय बनाएकी चन्दको स्वयम्भू वृत्त इन्चार्ज भएपछिपनि समूदायसँग हातेमालो गर्दै फरक प्रयास, समुदायको साथ भनेझैँ काम गरिरहेको त्यहीँका स्थानीय बताँउछन् ।

हो, यसरी समाजमा अपराध नियन्त्रणदेखि शान्ति सुरक्षा कायम गर्न तल्लिन यी महिला प्रहरीको अधिकृतको कामलाई अन्य प्रहरी वृत्त तथा प्रभागका इञ्चार्जले अनुसरण गर्ने हो भने नगरिकलाई प्रहरीप्रति धेरै भरोसा लाग्ने नारा ‘प्रहरी मेरो साथी’ अभियानले मूर्त रुप पाउन धेरै दिन कुर्नु पर्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?