समाजलाई सरोकारका मुद्दा सम्झाउन स्मृति सम्मेलन

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्मृति सञ्जालले काठमाडौंमा पहिलो राष्ट्रिय स्मृति सम्मेलन आयोजना गरेको छ । दुई दिने सम्मेलनको शुभारम्भमा बुधबार द्वन्द्वपीडित र स्मृतिको क्षेत्रमा काम गर्नेहरु पहिलो दिनको कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रनितिधिहरुले आआफ्नो धारणा राख्दै समाज ब्युँताउने मुद्दाहरु स्मरणीय बनाइरहनुपर्नेमा जोड दिए ।

प्राध्यापक डाक्टर अभि सुवेदीले समाजले भुल्नै नहुने विषयहरु विभिन्न घटनाक्रमले बिर्साउने गरेको बताए । स्मरणीय विषयमा निरन्तर संवाद भइरहनु समाजका लागि हितकर हुने भनाइ उनले राखे ।

‘बिर्साउने र बिर्सिने त मायाका गीतहरुमा पो आउने गर्थे, अहिले राजनीतिमा हुने गरेको छ यस्तो । कसैले अपराध गर्छ भने त्यसलाई कसरी बिर्साउने भन्नेमा सबैको मिहिनेत लाग्छ,’ उनले भने । नेपालमा बिर्साउने काम धेरै भएको र त्यसमा राजनीति गर्नेहरुको भूमिका रहेको उनले बताए ।

‘सधैं एउटै कुरा भनेको छ, पढेको छ । सांसदमा पनि हामी विधेयक पास गर्छौ, यो गर्छौ त्यो गर्छौ गरेर जनतालाई कुराहरु बिर्साउने काम हुन्छ । यसलाई एम्नेसिया भनिन्छ,’ उनले भने, ‘यो विषयहरु बिर्साउने एउटा राम्रो तरिकाका रुपमा आएको छ । हामी यहाँ यो एम्नेसियालाई चिर्नको लागि जम्मा भएका छौं ।’ समाजले निरन्तर सम्झिएर खबरदारी गर्ने विषयहरु विर्सन नहुने उनले बताए ।

कार्यक्रममा माओवादी केन्द्रकी नेतृ देवी खड्काले अहिले न्यायको वकालत गर्ने पक्ष र राज्यको दूरी अलि टाढा भएको होकी भन्ने अवस्थामा पुगेको बताइन । ‘यसलाई नजिक ल्याउने दायित्व पनि हामी पीडितबाट अभियन्ताका रुपमा आएकाहरुको टाउकोमा आएको छ र हामी त्यही जिम्मेवारीबोधका साथ काम पनि गरिरहेका छौं,’ उनले भनिन्, ‘यो स्मृतिको उद्देश्य पनि यही नै हो । संसद चलेको पहिलो सदनमा शान्ति सम्झौताको विधेयकलाई एजेण्डालाई संसदले सूचीमा राखेन भने म आन्दोलनमा जान्छ । किनभने पीडितका लागि राजनीति गर्न पाइन्छ तर पीडितको नाममा राजनीति हुन भएन, भन्ने राजनीतिक दलहरुलाई हाम्रो अर्को सुझाव पनि छ । हामी हाम्रो जीवनकालमा न्याय चहान्छौ, र समाजमा पुस्थापित भएर बाँच्न चाहन्छौ ।’

सम्मेलनमा स्थानीय स्मृतिकर्ता, शिक्षाविद्, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरू, द्वन्द्वपीडित, स्मृति र स्मरणसँग सम्बन्धित विषयहरूमा काम गर्ने अधिकारीहरू एकै ठाउँमा भेला भएका छन् ।

भेलाले नेपालमा स्मृतिको क्षेत्रमा भएका काम र त्यसको विकासक्रमका बारे बृहत् छलफल गर्ने र बिगतका स्मृतिको संरक्षणार्थ लिनुपर्ने नीतिगत पहलकदमीका लागि मार्गनिर्देश गर्ने लक्ष्य राखिएको छ ।

नेपालमा ऐतिहासिक घटनाक्रमहरूको दस्ताबेजीकरण, प्रकाशन, प्रवर्धन गर्ने उद्देश्यले २०२२ मा राष्ट्रिय स्मृति सञ्जाल स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?