तस्वीरमा टुँडिखेलको भावविह्वल दृश्य !

काठमाडौं । बुधवार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातको निधन भयो । 

पाथीभरा मन्दिर दर्शन गरेर काठमाडौं फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसहित सातै जनाले ज्यान गुमाए ।  

बिहीवार दिउँसो ताप्लेजुङबाट नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट दिवंगत सातै जनाको शवहरु काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याईएको सातैजनाको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, बिहीवार पोस्टमार्टम गर्न समय लागेपछि शुक्रवार बिहान मात्र श्रद्धाञ्जलीका लागि शवहरु टुँडिखेलमा राखिएको थियो । 

पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरलाई काठमाडौंको टुँडिखेलमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत सर्वसाधारणहरु पनि उल्लेख्य उपस्थिति थियो ।

अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेल पुगेका आफन्त मात्र नभएर आसपासको क्षेत्र नै शोकमा डुब्यो । 

दिगंवत आफन्तलाई अन्तिम श्रद्धाञ्जली दिँदा परिवारमात्र भावविह्वल हुँदा त्यहाँ उपस्थिति सर्वसाधारणको समेत आँखा रसाएको थियो । 

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, सफल पर्यटन उद्यमी तथा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, हेलिकोप्टर पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षागार्ड नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मृत्यु भएको थियो ।

श्रद्धाञ्जलीपछि सातै जनाको शव आफन्तलाई जिम्मा लागाइएको छ । यसैबीच पर्यटनमन्त्री अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा हुने भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?