हेलिकप्टर दुर्घटनाका मृतकप्रति सामूहिक श्रद्धाञ्जलि, अधिकारीको पोखरामा अन्त्येष्टि

  काठमाडौँ–ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई आज सामूहिक रुपमा श्रद्धाञ्जलि दिन टुँडिखेलमा कार्यक्रम राखिएको छ । अहिले सातै मृतकको पोस्ट मार्टम सकिएको छ ।

    दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो ।  श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार नै हुने भनिएपनि शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलि कार्यक्रम आजको लागि सारिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले     सातै जनाको शव बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिने जानकारी दिए ।  श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने उनले जानकारी दिए ।  श्रद्धाञ्जलिपछि शव आफन्तजनलाई जिम्मा दिइने बताइएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

यसैबीच अधिकारीकाे अन्तिम संस्कार गृहनगर पाेखरामा हुने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?