ताप्लेजुङ – पर्यटनमन्त्री रवीन्द्र अधिकारीको टोली बुधबार पाथीभरा आउने पूर्वजानकारी थिएन । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायले थाहा पाउँदासम्म टोली मन्दिर पुगिसकेको थियो । मन्क्री अधिकारीले तेह्रथुम चुहानडाँडाको कार्यत्रममा आफू काठमाडौं फर्कन लागेको बताए पनि टोली पाथीभरा दर्शन गर्न गएको थियो ।
प्रजिअ अनुज भण्डारीमार्फत मन्त्री आउने जानकारी पाएका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले माथिल्लो फेदी अस्थायी चौकीका हवल्दारलाई फोन गरेर मन्त्री आउनेबारे सोधे ।
जवाफमा उनले भने, ‘म हजुरलाई जाहेर गर्नै लागेको थिएँ, मन्त्रीज्यू आइसक्नुभयो ।’ पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी सुमित तवेवुङ लिम्बू (रामु) का अनुसार समितिले हेलिकप्टर अवतरण हुनु केही अघि मात्रै मन्त्रीको टोली आउने जानकारी पाएको थियो । रामुले नै मन्त्री टोलीलाई मन्दिर परिसरमा खादा लगाएर स्वागत गरेका थिए । फर्कने बेला चिया पनि खुवाएका थिए । हेलिकप्टर दुर्घटना भएपछि दौडेर दुर्घटनास्थल पुगी जल्दै गरेको शव पनि उनैले देखे ।
मन्त्रीको टोलीलाई स्वागत गर्न समिति अध्यक्ष पुष्प बडुवालले सदस्य–सचिव उदय भट्टराईलाई टेलिफोन गरी पाथीभरा आउन भनेका थिए । सदरमुकाम फुङलिङमा रहेका भट्टराई अध्यक्षले दिएको समयमा मन्दिर पुग्ने अवस्था थिएन ।
उनले समिति सदस्य इन्द्रनारायण भट्टराई र कर्मचारी रामुलाई टेलिफोन गरे र स्वागतका लागि व्यवस्थापन मिलाउन अह्राए । सदरमुकाम झर्ने तयारीमा रहेका इन्द्रले नभ्याउने भएपछि रामु खादा तयार पारेर बसे । उनी प्रत्येक बिहान माथिल्लो फेदीबाट मन्दिर जान्छन् र भक्तजनले पूजापाठ सकेपछि भेटी बटुलेर फर्कन्छन् ।
हेलिकप्टर अवतरण गर्दा हिउँ पर्न थालिसकेको थियो । मन्त्रीको टोली सरासर मन्दिर क्षेत्रमा पुग्यो । हावा चलिरहँदा हिउँ अनुहारमा ठोक्किने भएकाले उनीहरू फटाफट मन्दिर प्रवेश गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया