अलविदा रविन्द्र अधिकारी ! …..एउटा अपुरो सपना (भिडियोसहित )

कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा वि.स २०२६ बैशाख २२ गते आइतबार रविन्द्र अधिकारी जन्मिएका थिए ।

आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका अधिकारी,आफ्नो गाँउकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाँउ बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.वि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हासिल गरेका थिए । 

बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक विद्यालयका शिक्षक हुन् । 

सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न भए । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगाएतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीवनमा विद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी थिए । 

 

वि सं २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरु गरेका अधिकारी विद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि विद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहेका, वि सं २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, वि सं २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य , वि सं २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष, वि सं २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र वि सं २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र वि सं २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापतिका रुपमा निवार्चित भएका थिए ।  वि सं २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी वि सं २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निवार्चित भएका थिए ।  

त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गरेका उनले संविधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक वि सं २०६३ मा प्रकाशित गरे । वि सं २०४५ मा १ बर्ष माध्यमिक विद्यालयमा अध्यापन गरेका थिए ।  

एशियाली विद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघ लगाएत अन्तराष्ट्रीय युवा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रीय सम्मलेनमा उनले भाग लिएका थिए । 

वि सं २०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित भए ।  २०४०मा इलाका पार्टी कमिटीमा,२०४६र४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय थिए ।  २०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र ०६३ मा पनी पुनः सचिवमा निवार्चित भए । ०६२र ६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्दको आन्दोलनमा पटक–पटक गरी पाँच महिना जेल परेका थिए ।  

०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निवार्चित भएपछि संसदमा सार्वजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्बजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोर्ट आदि बिषयमा बिभिन्न उप–समितिमा रहेर त्यसको नेतृत्व गरि काम गरे ।

 
२०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति रहे भने २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निवार्चित भए लगातार तेश्रो पटक निवार्चित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री थिए । 

विद्यार्थी नेता,पार्टी नेता र संविधानसभा र संसद सदस्यका हैसियतले नेपालको प्रतिनिधित्व गरेर उनले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईलैण्ड, भियतनाम, इटाली, श्रीलंका, रुस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे, लगायतका देशको भ्रमण गरेका थिए । 

रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका युवा नेता हुनुकासाथै केन्द्रीय सदस्य पनि समेत थिए । संविधानसभा–२ को निर्वाचनमा उनी कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निवार्चित भएका थिए । 

अनेरास्ववियूका अध्यक्ष रहिसकेका अधिकारी संविधानको सभा–१ को चुनावमा कास्की क्षेत्र न ३ वाठ भारि वहुमतका साथ संविधान सभासद बन्ने मौका पाएका थिए । उनकै पहलमा विद्यार्थीहरुले यातायातमा यात्रा गर्दा  पाउने ४५ प्रतिशत कार्ड डिस्काउन्ट पाउने व्यवस्था बसेको हो । 

 

अधिकारीको दुई छोरा र श्रीमती छन् । 

२०७५ साल फागुन १५ गते बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित  हेलिकप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको छ । 
उनका सपना अपुरो हुन्छ कि भनेर आम नागरिकले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?