हेम बहादुर मल्ल सम्मान ०७७ र ०७८ क्रमशः प्रधान र आचार्यलाई दिइने

लोकपथ
105
Shares

काठमाडौं । हेम बहादुर मल्ल सम्मान २०७७ र ०७८ क्रमशः गोरक्ष बहादुर न्हुुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र नेपाल जनप्रशासन संघ (पान) ले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

उक्त सम्मान भने साउन ३ गते बुधबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले होटल र्याडिसनमा आयोजित एक कार्यक्रमकाबीच प्रदान गर्नेछन् ।

नेपाल जनप्रशासन संघले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय मल्लले साल्ट ट्रेडिङ्ग कर्पोरेश लिमिटेडको नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ट योगदान पुुर्याएबापत उनको सम्झनामा उक्त सम्मानको घोषणा गरेको हो । सो पुरस्कार सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत सम्मानसहित दुई लाख प्रदान गरिँदै आइएको छ ।

२०४७ सालमा स्थापना भएको संघले विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिसकेको छ । सम्मान पाउनेमा केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरिशंकर लाल दास र सूर्यनाथ उपाध्याय रहेका छन् ।

प्रधान यो पुरस्कार पाउने अठारौँ र आचार्य उन्नाइसौँ व्यक्ति रहेका हुन् । सम्मान छनोट भने पूर्व गभर्नर एवं पूर्व सचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट टे्रडिङ्ग कर्पोरेशन लिमिटेडका तत्कालिन अध्यक्ष कल्याण गोविन्द श्रेष्ठ पूर्व सचिवद्वय पूर्णचन्द्र भट्टराई र याम कुमारी खड्का सदस्य रहेका थिए ।

को हुन् स्वर्गीय मल्ल ?

हेमबहादुर मल्लको जन्म विंस. १९९५ सालमा निसिभुजी बाग्लुङमा भएको थियो । उनले साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख डाइरेक्टर, इन्चार्ज, प्रमुख सल्लाहकार र प्रेसिडेन्ट जस्ता पदमा रहेर सेवा गरेका थिए ।

उनी नेसनल फाइनान्स कम्पनी लिमिटेड र सुवर्ण फर्मास्युटिकल लिमिटेडको अध्यक्ष समेत रहेर काम गरेका थिए । साथै उनी गोरखकाली रबर उद्योग प्रालि, बुटवल धागो कारखाना लिमिटेड, मोरङ सुगर मिल्स लिमिटेड, नेपाल वनस्पती घ्यू उद्योग लिमिटेड, खाद्य उद्योग लिमिटेड र हितकारी गुठीको सन्चालक रहेका थिए । त्यसका साथै उनी नेपाल चेम्बर अफ कमर्श र नेपाल व्यवस्थापन संघको कार्यकारी सदस्य रहेका थिए । उनी गोरखा दक्षिणबाहु चौथो र शुभराज्यभिषेक पदकबाट विभुषित समेत भएका थिए ।

प्रशासनीक तथा व्यवस्थापकीय क्षेत्रमा लामो समय काम गरेका मल्लको मृत्यु २०५७ सालमा हृदयघातका कारण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?