अक्षय तृतीयाको महत्त्व

लोकपथ
884
Shares

हिन्दू शास्त्रहरुमा अक्षय तृतीयालाई स्वयं सिद्ध मुहुर्त मानिएको छ । यो दिन चन्द्र र सूर्य दुवै आफ्नो उच्च राशिमा रहन्छन् । वैशाख महिनामा सूर्य उच्च हुन्छ भने आज वृष राशिमा चन्द्रमा उच्च छ ।

अस्यां तिथौ क्षयमुपैति हुतं न दत्तम्

तेनाक्षयेति कथिता मुनिभिस्तृतीया ।

उद्दिश्य दैवतपितृन्क्रियते मनुष्यै:

तच्चाक्षयं भवति भारत सर्वमेव ।।

अर्थात्, यो तिथिमा गरिएका हरेक शुभ कार्यहरु अक्षय हुन्छन्, लामो समय सम्म हाम्रो जीवनमा तिनीहरुको प्रभाव रहन्छ । यो दिन देवता एवं पितृहरुको नाममा गरिएका कुनै पनि कर्महरु व्यर्थ जादैनन् । यो दिन गरेका शुभकर्महरुको फल जन्म-जन्म सम्मको लागि हाम्रो पछि लाग्छन् भन्ने शास्त्रीय मत रहेको छ ।

भगवान् विष्णुका विभिन्न अवतार मध्ये प्रमुख १० अवतार प्रसिद्ध छन् । ती मध्ये छैठौँ अवतार परशुराम अवतार हो । अक्षय तृतीयाकै दिन माता रेनुका र पिता जमदग्नि ऋषिका घरमा परशुरामले जन्म लिएका थिए । यही तिथिमा भगवान् विष्णुका चरणबाट भागिरथि गङ्गा पृथ्वीमा अवतरित भएकी थिइन् । भविष्य पुराणका अनुसार सत्य त्रेता र कलियुगको सुरुवात र द्वापर युगको अन्त्य पनि यही तिथिमै भएको मानिन्छ ।

हिन्दूधर्ममा प्रसिद्ध चारधामहरु मध्ये श्री बद्रीनाथ धामको कपाट खुल्ने तिथि पनि आजै हो ।

यो दिन आइतबार पर्नु निकै शुभ मानिन्छ भने, संयोगवश आज आइतबार नै परेको छ । आइतबार सूर्यको बार हो । वैशाख महिनामा सूर्य त्यसै त उच्च हुन्छ, त्यसमाथि बार पनि आइत नै हुनु निकै शुभ सङ्केत हो ।

मत्स्य पुराणका अनुसार, अक्षय तृतीयाका दिन अक्षता, फूल आदि १६ उपचारले भगवान् विष्णुको पूजा गर्नाले लक्ष्मी तथा सन्तान प्राप्ति हुन्छन् ।

अक्षय तृतीया स्वयं सिद्ध मुहुर्त भएको हुनाले हरेक शुभ कार्यहरु गरिन्छन् तर अहिले देवगुरु बृहस्पति अस्त भएको हुनाले विवाह, व्रतबन्ध, व्यापारको सुरुवात जस्ता शुभकर्महरु गरिंदैनन् ।

सूर्योदय हुनु अगाडि नै उठेर नदीमा गएर नुहाउने, त्यसपछि भगवान् विष्णुको पूजा गरेर जौको सातु र सर्वत खाने अनि खुवाउने परम्परा नेपाली समाजमा चलिआएको छ ।

ज्योतिषीय गणनामा आज शुक्र र चन्द्रमा वृष राशिमा हुन्छन् । चन्द्रमा मन र सुन्दरताको प्रतीक हो भने, शुक्र चाहिँ कला, प्रेम, रोमान्स, यौन, प्रजनन क्षमतासङ्ग सम्बन्धित छ । चन्द्रमा र शुक्रको यो योगलाई कलानिधि योग भनिन्छ ।

– चिरञ्जीवी ढकाल,

ज्योतिष तथा धर्मशास्त्राचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?