सरकारले क्यान्सर पीडितलाई उपचार खर्च पाँच लाख दिनुपर्छ: अर्जुन नरसिंह केसी

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले क्यान्सर पीडितका लागि कम्तिमा रु. पाँच लाख सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको २८ औँ सभामा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेपालमा जनताले अझै पनि गरिबीका कारण समयमा उपचार गर्न नपाएकाले सरकारले क्यान्सर पीडितको उपचारका लागि पहल गरिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै व्यवसायी कर्ण शाक्यले आफूले श्रीमती र छोरी क्यान्सरका कारण गुमाएपछि नेपालमा पनि क्यान्सर अस्पताल खोल्नुपर्ने धारणा ल्याएको बताए । शाक्यले भने, ‘मैले छोरी र श्रीमती गुमाएपछि क्यान्सरका कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर नेपालमा पनि क्यान्सर अस्पताल खोल्नका लागि त्यतिबेला स्वास्थ्यमन्त्रीलाई अनुरोध गरेको थिएँ, त्यतिबेला स्वास्थ्यमन्त्री हुनुभएका अर्जुन नरसिंह केसीले सम्मानका साथ यसमा सहमति जनाउनुभयो ।’

साथै शाक्यले गिरिजाबाबु र अर्जुन नरसिंह केसीको पहलमा नेपालमा क्यान्सरको उपचार विधि भित्रिएको पनि बताए । उनले अहिले जस्तो मिडिया नभएकाले यो विषय त्यति चर्चामा नआएको समेत धारणा राखे ।

कार्यक्रममा बोल्दै नेता अर्जुन नरसिंह केसीले त्यतिबेला जोखिम भए पनि देश र जनताका लागि फाइदा हुने काम गर्ने भनेर आफूले रिस्क लिएरै पनि क्यान्सरको उपचारका लागि उपकरण भित्र्याएको स्मरण गरे ।

‘नेपालमै क्यान्सरको उपचारका लागि पहल गर्ने भन्दा त्यतिबेला सचिवले पनि साथ दिएका थिएनन्, मैले आफै हस्ताक्षर गर्छु भनेँ, अहिले नेपालीलाई सहज भएको छ ।’, केसीले भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?