सद्भावका देवता सेतो मच्छिन्द्रनाथ

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै लानु, नेवा: संस्कृतिको एउटा अंग हो। धार्मिक सहिष्णुताको प्रतिक तथा सद्भाव र करुणाका देवता आर्याअवलोकितेश्वर/करुणामय (जनबहाः द्यः)/ सेतो मच्छिन्द्रनाथको  रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमी – चैते दसैँदेखि सुरु हुन्छ । चैत्र शुक्ल अष्टमीका दिन काठमाडौको जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको नौतले शिखर शैलीको रथमा प्रतिस्थापन गराइएपछि सेतो मच्छिन्द्रनाथको रथलाई नगर परिक्रमा गराइने प्रचलन छ ।

पहिलो दिन रथलाई जमलबाट रत्नपार्क हुँदै भोटाहिटी – असनसम्म पुर्‍याइन्छ भने, भोलिपल्ट असनबाट हनुमान ढोका अगाडिसम्म रथ तानेर लगिन्छ ।  यसैगरी तेश्रो दिन मरुहिटी र जैसीदेवल हुँदै लगनटोल पु¥याइन्छ । रथ लगनमा पुगेपछि  त्यहाँ रहेको जनबहाःद्यःकी आमाको मन्दिर र मां सिमा नामक रुखलाई तीन पटक परिक्रमा गराई जात्राको समापन गरिन्छ । रथयात्राको अन्तिम दिन लगन टोलमा रथ पु-याउने बित्तिकै जीवित देवी कुमारीलाई खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन रहेको छ । यसरी हजारौ भक्तजनहरुले तानेका रथलाई  बाजा गाजा अनि स्थानीय झाँकीका साथै विभिन्न देवदेवीको मुखुण्डो लगाएर नाचगान गर्दै एक ठाउँबाट अर्को ठाउँ लगिन्छ । यस्तै जात्रा ललितपुर र दोलखामा पनि बुङ्ग ध्य: जात्राका रुपमा गरिन्छ ।

जनबहाःद्यःको मूर्तिलाई रथबाट ओराली खटमा बोकेर विभिन्न टोलको परिक्रमा गराई जनःबहालस्थित मन्दिरमा पुर्‍याएपछि जात्रा सकिने परम्परा छ।

गणतन्त्र आउनुपूर्व यो जात्रामा राष्ट्रप्रमुख वा कुनै पनि राजाहरू सहभागी हुँदैनथे । गणतन्त्र आइसकेपछि भने राष्ट्रप्रमुख वा राष्ट्रपतिलाई जात्राको पहिलो दिन सहभागी गराउने चलन बसेको छ ।

चैत्र शुक्ल अष्टमीका दिनबाट  हुने यस जात्राको शुरुवात त पहेला अर्थात् पौष महिनामै भइसक्छ । हरेक वर्ष पौष महिनामा शुक्ल पक्षको अष्टमीका दिन मच्छिन्द्रनाथलाई बौद्ध परम्पराअनुसार काठमाडौंको केलटोलको जनबहालमा महास्नान गराइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराइँदा मूर्तिलाई मन्दिर बाहिर ल्याई मन्दिर अगाडि रहेको डबलीमा सातवटा नाग भएको आसनमा विराजमान गराइन्छ । अनि ६ वटा तामाको घडामा भएको चोखो जलले स्नान गराइन्छ । स्नान गराइ रहँदा पञ्चताल बाजा  बजिरहन्छ । स्नान गराउनु अघि मच्छिन्द्रनाथको मूल गुरुजुले दश दिशामा बौद्ध परम्पराअनुसार दश दिक्पालको पूजा गर्छन् । यस कार्यक्रममा जिवित देवी कुमारीको पनि सहभागिता रहन्छ ।

मच्छिन्द्रनाथको मूर्तिलाई पौष शुक्ल पूर्णिमाका दिन बौद्ध परम्पराअनुसार प्राण प्रतिष्ठा गरी केटा र केटी दुवैलाई गरिने जात कर्म, नाम कर्म, अन्नप्रासन, उपनयन, चुडाकर्म, बेलविवाह, गुफा राख्ने आदि दशकर्म गरेपछि मन्दिरको आफ्नै आसनमा राख्न लगिन्छ । यही सन्दर्भमा देवतालाई थायब्व (विहेको बेला खुवाउने ठूलो थालीको भोज) पनि खुवाइन्छ । यही थायब्वको प्रसाद बेल विवाह नगरेका बालिकालाई खुवाएमा बेल विवाह गर्नुपर्दैन भन्ने जनविश्वास छ । पुत्र नभएकाहरूले मच्छिन्द्रनाथको पिग्वय् प्रसादको रूपमा लिएमा पुत्र जन्मिन्छ भन्ने पनि जनविश्वास छ  ।

मृत्यु संस्कारमा घरलाई शुद्ध पार्न यहाँको जल छर्किने चलन छ । यसबाट साँग्लो, कमिला आदि आउँदैनन् भनिन्छ । दिवंगत भएका आफन्त र घर परिवारका नाममा सिदा दान दिने गरिन्छ । सिदा दान दिंदा दिवंगत भएकालाई निर्वाण प्राप्त हुने विश्वास छ । शुभ मंगल चिताएर आफ्नो र आफ्ना घर परिवारको सुख, शान्ति र कल्याण होस् भनी दियो बाल्ने गरिन्छ ।

कोही मानिस गाह्रो साह्रो हुने गरी बिरामी भएमा करुणामयको जप पाठ गराइन्छ । यसमा पञ्चरक्षा, नव्याकरण, प्रज्ञापारमिता आदि पाठ गराइन्छ । यसरी पाठ गराइँदा रोग निको हुने विश्वास छ । दिवंगत भएका आफन्तको नाममा पनि निर्वाण कामना गरेर पाठ गराइन्छ ।

सेतो मछिन्द्रनाथको जात्रामा सहभागी भएमा पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास रहीआएको छ। धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने चलन रहिआएको छ।

प्यन्हु बिचा:
जात्रा सकिएको चौथो दिनमा प्यन्हु बिचा: अथवा बिचा: पूजा भनी जनबहाःद्यःको दर्शन गर्न जाने परम्परा रहेको छ। जात्रा पश्चात् देवतालाई के- कस्तो छ भनी भेट गर्न जानू नै प्यन्हु बिचा: को मूल धारणा हो। हाल यो परम्परामा कमि आइसकेको छ भने, कसै-कसैले अझै पनि यो बेला फलफूल, गुलपा तथा अन्य कुराहरु लिएर देवताको हालखबर बुझ्न जाने गर्दछन्। प्यन्हु बिचा: जाने परम्परा जनबहाःद्यःको मात्र नभइ पाटनको रातो मछिन्द्रनाथ (बुङ्ग द्य:), पाटनको मीननाथ, तथा काठमाडौमा पाहाँचह्रे जात्रा सक्किए पछि कंग अजिमा कहाँ तथा बालाचह्रे जात्रा सक्किएपछी लुँती अजिमा कहाँ पनि प्यन्हु बिचा: जाने परम्परा यद्यपि रहेको पाइन्छ।

किम्बदन्ती

यक्ष मल्लको शासनकालमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्दा मृत्युपर्यन्त स्वर्ग जाने विश्वास थियो । एक दिन मृत्युका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिबारे जानकारी पाए र आफू स्वयं स्वयम्भूनाथमा दर्शन गर्न आए । यमराज यसरी स्वयम्भूनाथमा दर्शन गर्न आउँदा राजा यक्ष मल्लले थाहा पाए र  आफुलाई अमर हुने वरदान नदिएसम्म नछोड्ने भनेर यमराजलाई बन्दी बनाएर राखे , यसरी बन्दी भएपश्चात् यमराजले आफ्नो मुक्तिका लागि आर्य अवलोकितेश्वरको प्रार्थना गरेका थिए र यमराजको प्रार्थना सुनेपछि अवलोकितेश्वर स्वयं पानीबाट प्रकट भएर दर्शन दिए । भगवानले कालिमाटी र बागमतीमा उनलाई भेटन राजा यक्ष मल्ललाई मन्दिर बनाउन आज्ञा दिए र वर्षेनी यिनै अवलोकितेश्वर भगवानको महिमाका लागी रथ यात्रा र प्रार्थना गर्ने चलन स्वरुप प्राचिनकालदेखि नै सेतो मच्छिन्द्रनाथको जात्रा गर्ने चलन काठमाडौंमा शुरु भएको मानिन्छ ।

अर्को प्रचलित किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला परेको थियो , उनले मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराखे । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ । सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ ।

चार लोकेश्वर
काठमाडौं उपत्यकामा चार लोकेश्वर छन् । सद्भावका देवताका रूपमा सेतो मच्छिन्द्रनाथ, रोग र सम्बन्धविच्छेदको व्यवस्थापन गर्ने चोभारका आनन्दादी लोकेश्वर, वर्षा र सहकालका देवताका रूपमा बुङमतीका रातो मच्छिन्द्रनाथ, सृष्टि र संहारको व्यवस्थापन गर्ने देवताका रूपमा नालाका सृष्टिकान्ता लोकेश्वरलाई पुजिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?