नेवार समुदायले मनाउने “पाहाँचह्रे” अर्थात् पाहुना पर्व

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार समुदायले “पाहाँचह्रे” मनाउने गर्छन् । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । नेपालभाषामा “पाहाँ”को अर्थ पाहुना र “चह्रे” भन्नाले चतुर्दशी हो । नेवा: संस्कृतिमा पाहुनाको ठूलो स्थान छ। पाहुनालाई देउता मानेर श्रद्धापूर्वक स्वागत सत्कार गरिन्छ। त्यसकारण, आफ्ना नातेदार, चेलीबेटी, साथी भाइ, इष्टमित्र आदिलाई निम्तो गरेर पाहाँचह्रेमा भोज खुवाउने चलन छ। प्राकृतिक विपत्ति र रोगको महामारी शुरू भएको संकेत स्वरूप चैत्र चतुर्दशीका दिनदेखि  काठमाडौं उपत्यकामा पाहाँचह्रे मनाइन्छ। जाडो सकिएर गर्मी सुरु हुने बेलामा मनाइने यस पाहाँचह्रेमा बतास, वर्षा र अनेक थरीका रोगबाट बच्ने उपायको खोजी गरिन्छ।  यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी जमिनमुनि  रहेका  “लुकु महाद्यः (महादेव) को पूजा गर्ने परम्परा छ।

किंवदन्तिअनुसार शनिग्रहले महादेवलाई छुदै साढे सातको दशा आजदेखि हजुरलाई लाग्दैछ भनेछन्, महादेव धर्तीभित्रै साःगाः अर्थात खाल्टामा लुकी बसे । यसरी महादेव लुकेर बसेका बेला नेवारहरूले पाहाँचह्रे मानेर देवताहरूको जात्रा गरिरहेको थाहा पाई महादेवले मानिसको रूप लिएर नेवारहरूको भोजमा सरिक भई भोज खान थालेछन्। त्यसबेला सडकमै नेवारले भोज खुवाउने गर्थे। सबैका स–साना घर, त्यसमा पनि आमन्त्रित पाहुना धेरै आउने भएकाले सडकमै भोज गर्नुपथ्र्यो। महादेवले यसरी वर्षौंवर्ष नेवारको भोज खाइरहे। एकपटक स्थानीय युवाले यो मान्छे जहिले पनि हाम्रो भोज खान आउँछ, यो मान्छे को होला, चियो गर्नुपर्‍यो भनी पछिपछि लागेर जाँदा महादेव फोहोरको डंगुरमा पुगेपछि अलप भएछन्। ती युवाले त्यस फोहोरको डंगुरमा सफा गरी हेर्दा शिवलिंग देख्नेबित्तिकै त्यो मान्छे त महादेव पो रहेछ, यहीँ सिद्ध भएर बसेछन् भनी समय्बजि, जाँड–रक्सी चढाएर पूजा गरेछन्। संयोगवश उक्त समय महादेव त्यहाँ लुकेर बसेको सात वर्ष ६ महिना पूरा भएको रहेछ। महादेवको साढे साती शनि दशा सकिएकाले त्यहीँ सिद्ध भएर बसेका रहेछन्। यही दिन पाहाँचःह्रे पनि परेकाले यही परम्परा कायम राख्दै आजसम्म पाहाँचःह्रेका दिन नेवारले लुकुमहाद्यःको पूजा गर्ने चलन रहेको भनिन्छ।

किंवदन्तिअनुसार धेमहादेवले बाहिर आएर शनिसंग भनेछन्– खै त तिमीले मलाई छुन सकेको ? शनिले हाँस्दै भने– मैले नछोएको भए साढे सात वर्षसम्म हजुर फोहोरमा बस्नुपथ्र्यो र ?  पाहाँचह्रेको दिन घरको छाना बाँध्ने, फोहोर ठाउ ,साःगाः, ढल सफाइ गर्ने र आजु-अजिमा द्यः ( पुर्खा देवता) लाई समयबजी चिउरा, छोयला, माछाको थुप्रो चढाई पूजा गर्ने चलन छ । हुरी वतास उपद्रोबाट बच्न देवीदेवतालाई राँगा, हाँस, कुखुरा, बोका बलिदिई लुकुमाद्यः पूजा गरी भोज खाने चलन रहिआएको छ। पाहाँचह्रे पूजामा तोरी र मूलाको फूलसहितको बिरुवा राख्नाले घरमा भूतप्रेत, दुष्टात्माले प्रवेश गर्न पाउदैन र भोजमा लसुन, मूला खानाले रोगबाट बचाउँछ भन्ने विश्वास राहिआएको छ  ।

दुरु च्यां च्यां जात्रा

पाहाँचह्रे सुरु हुनुभन्दा केहि दिन अगाडी अजिमाहरूकी आमाका रूपमा पुजिने पशुपतिस्थित भुवनेश्वरी (बछलामाजु ) ले पठाउने निमंत्रनाबाट पर्वको सुरुवात हुन्छ।  पशुपतिबाट महादेवलाई खटमा राखी उपत्यकाका अजिमा पीठलाई निमंत्रना दिने चलन अनुसार  दुरु च्यां च्यां बोलको दुन्दुभी बाजा बजाउँदै भुवनेश्वरीका पुजारी, पशुपतिनाथको आगमघरका भट्ट पुजारी, चार भण्डारीमध्येका एक जना सानो खटमा शिवलिङ्ग राखी छोरी देवता (अजिमा)हरूलाई निमन्त्रणा गर्न जाने गर्छन् । यसै बीच उपत्यकामा नक्साल भगवती, तखती अजिमा, लुँचुलबूँ अजिमा, न्हायकंतला अजिमा, कङग कजिमा, न्यतमरु अजिमा, लुमरी अजिमा र प्यङगः थां नरसिंह आजुको भव्य जात्रा हुने गर्दछ ।

पाहाँचह्रेको दिन पिंगलास्थानमा रहेको पिंगलामाइमा बलि चढाइ सामूहिक भोज खाने चलन छ । यसको मूल उद्देश्य सबै जाति एक हौं, जातको भेदभाव नगरौं भन्ने हो ।

पाहाँचह्रे पर्वको दोस्रो दिन घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई ८४ व्यञ्जनसहितको मल: जा खुवाइने गरिन्छ ।  मल: जा खुवाउनाले  बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास स्थानीय नेवार समुदायमा रहदै आएको छ। ।

पाहाँचह्रेको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (कङ्ग अजिमा)को खट बोक्नेहरूले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य: ल्वाकेगु’ भनिन्छ ।

जात्राका त्रममा आफन्तजन भेला भइ भोज खाने र रमाइलो गर्ने चलन छ । पाँहाचह्रेका दिन मुख्यतया समय्बजी खाने चलन छ । यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायतका परिकार खाइन्छ ।

पाहाँचह्रे बारे अर्को किम्बदन्ती

पाहाँचह्रे बारे अर्को किम्बदन्ती अनुसार पाहाँचह्रेको दिन अष्टमातृका दिदी–बहिनी एकै ठाउँमा बसी भोज खान भेला भएछन् । सबै लुगा–गहनामा ठाँटिएर भेला भए तर जेठी दिदी लुती अजिमाँ (इन्द्रायणी) गरिब र धेरै सन्तान भएका कारण झुत्रो लुगा लगाई भोजमा सामेल भइछन् । दुब्ली-पातली , झुत्रो लुगा लगाएर आएकी दिदीलाई देखेर बहिनीहरूले लुती अजिमालाई बस्नसमेत भनेनछन् । छोराछोरीले भोक लाग्यो भनिरहँदा समेत वास्ता नगरिदिएपछि भावविह्वल अजिमा छोराछोरी लिएर घर फर्किदै गर्दा, काठमाडौँको फसिकेब भन्ने ठाउँमा पुगेपछि एक बूढी आमाले रुदै आउंदै गरेकी अजिमालाई के भयो भनेर सोधिछिन् ,अजिमाले आफुलाई दिदि-बहिनीले गरेको व्यवहार र आफ्ना छोराछोरी भोकाएको बेलिबिस्तार लगाएपछि ती बूढी आमाले उनलाई एउटा फर्सी दिएर पठाईछिन् । घर पुगेर उनले त्यही फर्सी उसिनेर खुवाउन बिचार गरिन्  र जब उनले फर्सी पकाएर थालमा खन्याइन, फर्सी सुनमा परिणत भयो र जति खन्याएपनि भाँडा खालि भएन , त्यसपछि उनले त्यो भाँडा नै खोलामा बगाइदिइन्। सहरमै सबैभन्दा धनी भएकी लुती अजिमा अर्को वर्षको पाहाँचह्रेमा बहुमुल्य सुनका गहना, राम्रा–राम्रा लुगा लगाएर जाँदा दिदीबहिनीले सम्मानपूर्वक भोज राखिदिएछन् । तर अजिमाले विगतमा आफू र आफ्ना सन्तानप्रति गरेको भेदभाव सम्झँदै सबै भोज लुगामा दल्न थालिछन् । यसबाट आश्चर्यचकित दिदी–बहिनीले प्रश्न गर्दा लुती अजिमाले भनिछन्–‘हिजो लुगा–गहना नहुँदा मेरा छोराछोरी भोकभोकै फर्कनुपरेको थियो, यो भोज तिमीहरुले यही गहना र लुगालाई खुवाएको हो’ भनेर उनी जुरुक्क उठेर त्यहाँबाट फर्किइछन्। त्यसै दिनदेखि लुती अजिमा (इन्द्रायणी देवी) को बालाचतुर्दशीका दिन जात्रा हुन्छ भने अन्य अष्टमातृका देवीको खटजात्रा पाहाँचह्रेको दिन हुने गर्दछ ।

घोडेजात्रा

दुष्टात्मा र प्राकृतिक उपद्रव शान्त हुन्छ भन्ने मान्यताअनुसार मल्लाकालदेखि चलिआएको घोडेजात्राल काठमाडौंको टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री तथा गन्यमान्यको को उपस्थितिमा फूलपाती बढाइँका साथ मानाइन्छ । घोडेजात्राको दिन विहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा शुरु भएको जनाउ दिने गर्दछन् । यसरी जनाउ दिएपछी क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकाैशलहरूको प्रदर्शनी शुरु हुन्छ । पाटनको बालकुमारीमा रक्सी खुवाएर एकमात्र घोडा कुदाईन्छ  । राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव हुँदा ने.सं.७८७ तिर पाटनमा एक्लो घोडा कुदाउन थालिएको जनश्रुति रहदै आएको छ  । आफ्ना जनताले काठमाडौं जान नपरोस् भनिपाटनको बालकुमारीमा एक्लो घोडा कुदाई मनोरञ्जन गर्न थालिएको हो । यस दिन काठमाडौं उपत्यकाका सर्वजातका केटाकेटीलाई एउटै लहरमा राखी मल: जा खुवाईन्छ । यसरी मलजा खुवाउनाले केटाकेटीलाई रोग लाग्नबाट बचाउँछ भन्ने विश्वास गरिन्छ । भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । अर्कोतर्फ प्रत्येक बर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ । त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा गरेर अर्थात घोडा हिंडाएर नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।

घोडेजात्राबारे अर्को किम्बदन्ती

परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नकालागि अनेक उपायहरु खोज्न थाले । त्यसपछि त्यस राक्षसलाई थुप्रै घोडाले कुल्चाएर मारिएको थियो र उनलाई त्यहि गाडिएको छ भन्ने किम्बदन्ती रहेको छ। गुरुमापाको प्रतीकका रूपमा टुँडिखेलको पुर्व दक्षिण दिशामा सो रुख अझसम्म पनि सुरक्षित छ। अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरुको भनाई छ । फागुपूर्णिमाको मध्यरातमा प्रत्येक वर्ष काठमाडौँको टुँडिखेलमा गुरुमापा राक्षसलाई चौरासी व्यञ्जनयुक्त भोजन गराइन्छ । भूतप्रेत पन्छाउँदा आफ्नो टोलवासी लगायत देशकै रक्षा हुने धार्मिक विश्वास छ ।

असंभलु (अन्नपूर्ण) अजिमा जात्रा

असन अन्नपूर्णमा प्रत्येक वर्ष पाहाँचह्रेका बेला चैत्रकृष्ण औंसीका दिनखट जुधाइन्छ । असन अन्नपूर्ण  अजिमा अगाडि टेबहालकी लुभडी अजिमा र वटुखट, कङकेश्वरीको कङ्ग अजिमा जुधाए पनि नरदेवीकी ङेतमरु  अजिमा , टंकेश्वरकी तखती  अजिमा , मैतीदेवीकी मैती  अजिमा , नयाँ बजारकी म्हेपी  अजिमा र बाङ्गेमुढाकी न्हेकन्तला  अजिमाको छुट्टै जात्रा मनाइन्छ । असन चोकमा खटजात्रा भइरहँदा झ्याल–झ्यालबाट भक्तजनहरूले सुगन, रोटी, चट्टामरी र लोचामरी चढाउँछन्  ।

असंमरु अजिमा जात्राबारे कथन अनुसार एक जना ग्वाला जामाचो (नागार्जुन ) देखि म्हेपी हुँदै गाई चराउँदै असन पुग्दा एउटी सुन्दरीलाई पञ्जपुखु (रानीपोखरी ) मा नुहाएर कपाल सुकाइरहेको देखेछन् । सुन्दरीको यौवनमा आकर्षित हुँदै ग्वाला अगाडि पुग्दा देवी अलप भई भनिछन्–‘म योगाम्बर ज्ञानेश्वरी म्हेपीकी अर्धाङ्गिनी अन्नपूर्ण हुँ ।’उनै ग्वालाका वंशजले क्षमापुजा गरी पूर्णकलशसहित असँभलु अजिमा (अन्नपुर्ण ) प्रतिष्ठापित गराए भन्ने किम्बदन्ती रहेको छ।

धमाथु (धर्मस्थली ) जात्रा

बालाजु बाइपासबाट करिब ७ किमि दक्षिण–पश्चिमको बस्ती धर्मस्थली लिच्छविकालीन राजा धर्मदेवद्वारा स्थापित सहर हो । पाहाँचह्रेका दिनदेखि शुरू हुने धमाथु (धर्मस्थली) जात्रामा पीठखट जुधाउँदै शुभकामना आदानप्रदान गरिन्छ । इन्द्रका ३२ हाते ढुंगेस्तम्भ खडा गरी थालिने जात्रामा महांकाल, पिङला अजिमा र तीनवटा गणेश समेत ५ खटको भव्य जात्रा हुने गर्दछ । पाहाँचह्रेका दिन छोरी–चेलीलाई  बोलाएर मीठो-मीठो खुवाइन्छ भने पाहाँचह्रेको भोलिपल्ट घोडेजात्राको दिन देवदेवीका खटलाई बजार घुमाइन्छ भने तेस्रो दिन चैत्रशुक्ल द्वितीयामा राति मुलजात्रा गरिन्छ । चतुर्थीका दिन सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रस्तुत गर्ने परम्परा छ ।

इचंगु महालक्ष्मी जात्रा

इचंगुनारायण स्थानमा मनाइने महालक्ष्मी जात्रा घोडेजात्राका दिन खटजात्रा गरी मनाइन्छ । यसका लागि पाहाँचह्रेका दिन द्यःछेबाट महालक्ष्मी देवताको मूर्ति खट निकाली गणेशसहित इचंगुनारायणको दक्षिण कुनामा अवस्थित पीठमा प्रतिष्ठापित गराइन्छ । यस दिन दशा हटाउने नाउँमा साँझ देवस्थलमा आगो बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट चिल्लागा औंसीको दिन महालक्ष्मी देवीलाई हाँस, राँगा, बोका आदि बलि दिई अबिर यात्रा गरिन्छ । महालक्ष्मी-गणेशको  खट बोक्नेहरूले जुत्ता लगाउन हुँदैन भन्ने मान्यतानुसार खाली खुट्टा खटजात्रा हल्चोक आकाश भैरव, चिसापानी, रामकोट, भीमढुंगा टाँफिकलसम्म पूजा थाप्न जाने परम्परा छ । यसै दिन इष्टमित्र, आफन्तलाई भोज बोलाईन्छ । चण्डिपुर्णिमाको दिन धनेश्वर महादेव (चण्डेश्वरी मन्दिरअगाडिको महादेव) को पनि सँगसँगै जात्रा हुने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?