नेविसंघ महाराजगञ्ज नर्सिङ क्याम्पस इकाईले चलायाे नर्सका मुद्धामाथि समुहगत छलफल

लोकपथ
2.4k
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ महाराजगञ्ज नर्सिङ क्याम्पस इकाईले नर्सको अवस्था र मुद्धाका विषयमा समुहगत छलफल सम्पन्न गरेको छ । स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा नेविसंघले नर्सहरुका मुद्धा र हालको अवस्थाका बारेमा छलफल सम्पन्न गरेको हो ।

बिहिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको छलफलमा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल, नर्सिङ काउन्सिलकी उपाध्यक्ष शारदा न्यौपाने, मिडवाइफ्री सोसाइटीकी पूर्व अध्यक्षद्वय प्रा. किरण बज्राचार्य, डा. लक्ष्मी तामाङ, स्टार कलेजकी क्याम्पस प्रमुख सरला केसी, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी सिनियर कन्ट्रोलर बिमला न्यौपाने, सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपालकी उपाध्यक्ष रमिला चौंलागाईं वक्ताका रुपमा थिए ।

कार्यक्रमलाई आगामी स्ववियु निर्वाचनमा नेविसंघको तर्फबाट उम्मेदवार रहेकी धनुष विश्वकर्माले सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा नर्सहरुले पाउँदै आएको न्यून पारिश्रमिक, नर्सले झेल्नुपरेका समस्या, नर्सिङ क्षेत्रमा छाएको निराशाले निम्त्याएको ब्रेन ड्रेनलगायतका विषयवस्तुमाथि छलफल भएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रतिनिध सभा सदस्य प्रदीप पौडेलले नेपालको स्वास्थ्य नीतिले नर्सहरुलाई पर्याप्त ढंगले समेट्न नसकेको प्रष्ट पारे । ‘नेपालको स्वास्थ्य नीतिले नेपाली नर्सहरुलाई गतिलो ढंगले छुन सकेका छैन,’ उनले भने, ‘
नीतिमा सुधार ल्याएर नेपालमा उत्पादित नर्सलाई नेपालमै बस्ने वातावरणको बनाउन जरुरी छ ।’

त्यसैले नर्सका प्रमुख समस्या राज्यको नीतिभित्र पार्न पौडेलले प्रतिवद्धता समेत व्यक्त गरे । ‘नर्सका समस्या राज्यका नीतिभित्र पर्न सकेको छैन,’ उनले भने, ‘नर्सका समस्यालाई उजागर गरी राज्यका पोलिसीभित्र पार्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

छलफलका क्रममा पौडेलले नर्सहरुको पारिश्रमिक बढाउन आवश्यक रहेको समेत बताए । यदि नर्सहरुलाई राम्रो पारिश्रमिक दिएर काम लगाउने हो भने सबै नर्स स्वदेशमै अडिने उनको तर्क थियो । ‘अहिले सबैभन्दा धेरै ब्रेन ड्रेनको समस्या स्वास्थ्य क्षेत्रमा छ,’ उनले भने, ‘त्यसलाई रोक्न म प्रतिवद्ध छु ।’

त्यस्तै, नेपाल नर्सिङ काउन्सिलकी उपाध्यक्ष शारदा अर्यालले निजी स्वास्थ्य संस्थाहरुले नर्समाथि श्रम शोषण गरिरहेको बताइन् । ‘थुप्रै निजी अस्पतालले कम पारिश्रमिकमा नर्सहरुलाई काम लगाइरहेका छन् कतिसम्म भने नर्सको खातामा २० हजार रुपैयाँ पठाउने तर ११ हजार रुपैयाँ फिर्ता माग्ने गरेको समेत पाइयो,’ उनी भन्छिन्, ‘यसले गर्दा नर्सहरुसँग प्रमाण पनि हुँदैन जसले गर्दा नर्सले न्याय पाउन सकिरहेका छैनन् ।’

त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरुको सुक्ष्म अनुसन्धान÷अनुगमन गरेर नर्सहरुमाथि भइरहेका ज्यादतीका बारेमा चनाखो हुनुपर्ने उनको भनाई थियो । साथै, नर्ससँग सम्बन्धित रहेर बनेका ऐन, कानूनहरुको पनि पूर्ण कार्यान्वयन हुनुपर्ने उनको माग छ ।

त्यस्तै, अर्की वक्ता डा. लक्ष्मी तामाङ भने नर्सहरुले आफूमाथि भइरहेको ज्यादतीका विषयमा प्रतिवाद गर्न नसक्दा झनै समस्या भइरहेको बताइन् । साथै, सबै नर्सले नर्सिङ संघको सदस्यता लिएर आफूमाथि भएको अन्यायका विरुद्धमा लड्नसमेत सुझाव दिइन् ।

त्यस्तै, प्राध्यापक किरण बज्राचार्यले पनि नेपालबाट नर्सिङ क्षेत्रमा भइरहेको ब्रेन ड्रेनको समस्या रोक्न सबै पक्षले बेलामै ध्यान दिनुपर्नेमा जोड दिइन् । यसैगरी, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी सिनियर कन्ट्रोलर बिमला न्यौपानले नर्सहरुलाई समय सापेक्ष तालिमको व्यवस्था गर्नुपर्ने बताइन् । ‘नर्सहरुलाई समय सापेक्ष दिन सकियो भने उनीहरुमा आत्मबल बढ्छ,’ उनले भनिन्, ‘तर, त्यस्तो व्यवस्था हुन सकेको छैन ।’

महाराजगञ्ज क्याम्पसकी पूर्व प्रमुख शुलोचना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा २ सय हाराहारी नर्सहरुको उपस्थिति रहेको थियो । छलफलमा उपस्थित नर्सले आफ्ना भोगाई, समस्याका बारेमा वक्ताहरुलाई प्रश्न गरेका थिए ।

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा भएको यो छलफलले नर्सिङ क्षेत्रका मुद्धाहरुलाई उजागर गर्न सहज भएको महाराजगञ्ज क्याम्पसमा नेविसंघको तर्फ स्ववियु सभापतिको उम्मदवार धनुष विश्वकर्मा बताउँछिन् । ‘हामी सधैँ नर्सिङका विद्यार्थीहरुको हकहितका लागि आवाज उठाउँदै आएका छौँ,’ उनले भनिन्, ‘यस्ता छलफलले हाम्रा मुद्धालाई अघि बढाउन अझै बल पुगेको छ ।’

याे पनि पढ्नुहाेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?