रामचन्द्र पौडेल : ०१५ सालमा कांग्रेसको सदस्यदेखि राष्ट्रपतिसम्म

लोकपथ
468
Shares

काठमाडाैं । नेपालले तेस्रो राष्ट्रपतिको रुपमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पाएको छ । बिहिबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको निर्वाचनबाट पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

३३ हजार ८०२ मतभार प्राप्त गरी पौडेल निर्वाचित भए । २१४ जना संघीय र ३५२ जना प्रदेश सांसदको मत पाएर पौडेल नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् । पौडेललाई माओवादी केन्द्रसहित ८ दलको समर्थन रहेको थियो । पौडेलको प्रतिस्पर्धीका रुपमा एमालेका सुवासचन्द्र नेम्वाङ थिए । नेम्वाङले संघतर्फ ९८, प्रदेशतर्फ १६२ जना सांसदले मत दिएका थिए । भने, ५ मत बदर भएको थियो ।

पौडेलको राजनीतिक पृष्ठभूमि

वि.सं.२००१ साल असोज २९ गते तनहुँको मिलुङ बाहुनपोखरा, हाल व्यास नगरपालिका वडा नम्बर ८ मा जन्मिएका पौडेलको राजनीतिक यात्रालाई बुझ्न २०१५ सालतर्फ फर्कनुपर्छ । पौडेलले २०१५ सालबाटै नेपाली कांग्रेसको सदस्यता लिएका हुन् ।

बाल्यकालदेखि नै राजनीतिमा होमिएका पौडेलले आफ्नो नेतृत्वमा २०१६ सालमा पोखरामा हिमालयन संघको स्थापना गरेका थिए । त्यस्तै, २०१८ सालमा कांग्रेसद्वारा सञ्चालित सशस्त्र क्रान्तिमा उनले सक्रिय सहभागिता जनाएका थिए ।

नन्दीरात्रि मा.विबाट विद्यालय शिक्षा हासिल गरेका पौडेलकै सक्रियतामा नन्दीरात्रि मावि र रानीपोखरी माविमा विद्यार्थी संघ स्थापना गरेका थिए । त्यस्तै, २०१९ सालमा जुद्धोदय हाइ स्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग र त्यस सम्बन्धि आन्दोलनको नेतृत्वसमेत गरेका थिए । ०२३ सालमा सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए पौडेल । ०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक सचिवसमेत रहेका पौडेल गण्डकी छात्र संघको संस्थापक अध्यक्षसमेत हुन् ।

सक्रिय राजनीतिमा होमिएका पौडेल २०२७ सालमा स्थापना भएको नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य बने । मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा (शास्त्री)सम्मको अध्ययन गरेका छन् । पौडेलका श्रीमतीसहित चार छोरी र एक छोरा छन् । उनी हाल काठमाडौंको बालाजुस्थित बोहोराटारमा बस्दै आएका छन् ।

विपीसँगको सहयात्रा

२०२५ सालमा विश्वेश्वरप्रसाद कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि रामचन्द्र पौडेलसँग भेट भएको थियो । उनीहरुको भेट सेन्ट्रल जेलमा भएको थियो । जतिबेला पौडेलसहित कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी तथा शम्भुराम श्रेष्ठलाई पनि भेटेका थिए । त्यसपछि पौडेल र कोइरालाको राजनीतिक सहयात्रा लामो समयसम्म रह्यो ।

युवा अवस्थामा नै शीर्ष नेताहरुबीचको अन्तरसंघर्षका क्रममा पौडेलले कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिका निभाउँदै आएका छन् । त्यतिबेला बनारसमा रहेका बीपी कोइराला र कोलकत्तामा रहेका सुवर्णशमशेरबीच मनमुटाव हुँदा उनीहरुबीच संवाद स्थापित आफूले नै गराएको पौडेलले दाबीसमेत गर्दै आएका छन् । पछि गिरिजाप्रसाद कोइराला कृष्णप्रसाद भट्टराईबीचको विवाद तथा मनमुटावमा मिलाउन पनि सधैँ सँधै मध्यमार्गी भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थी हुँदै पार्टी राजनीतिमा सक्रिय भएका पौडेल २०३४ सालमा पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसयता उनी निरन्तर केन्द्रीय समितिमा छन् ।

कांग्रेसको उपसभापति हुँदै २०७२ सालमा कार्यवाहक सभापति भएका उनी १३ औँ महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।

झण्डै १५ वर्ष जेलजीवन

राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म करिव १५ वर्ष जेलमा बन्दी जीवन बिताएका छन् । उनी पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रिँदा गिरफ्तार भइ जेल परेका थिए । त्यस्तै, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा रमाइलो झोडा काण्डको विरोध गरी कार्यक्रम गर्दा गिरफ्तार भई २०२८ बाट २०३२ सम्म जेल परेका थिए । पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा पनि उनले पटक पटक जेल जीवन बिताएका छन् ।

६ पटक खोले संसदको ढोका, मन्त्रीदेखि सभामुखसम्म

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए । दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएका थिए । उनी ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेसको महामन्त्री भए ।

त्यस्तै, ०६३ सालमा शान्ति तथा पुनःर्निमाण मन्त्री भए । माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक रहेका उनी ०६४ सालमा कांग्रेसको उप–सभापति भए ।

२०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भएका थिए । भने, २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनले पराजय व्यहोरेका थिए । त्यस्तै, गत मंसिरमा सम्पन्न निर्वाचनबाट छैटौँ पटक उनले संसदको ढोका खोलेका थिए ।

प्रधानमन्त्रीका लागि १७ पटकको प्रयास

नेपालको प्रमुख कार्यकारी पद प्रधानमन्त्री पदका लागि पौडेलले १७ पटक प्रतिस्पर्धा गरेका थिए । यद्यपि, उनको प्रयास सफल हुन सकेन । २०६७ साल साउनमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा पौडेल कांग्रेसबाट उम्मेदवार थिए । यता एमालेबाट झलनाथ खनाल र तत्कालिन एकीकृत माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएका थिए । तर, तीनैजनाले संवैधानिक प्रावधानअनुसारको मतसंख्या हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो । सातपटक सम्म कसैले पनि स्पष्ट मत प्राप्त गर्न नसकेपछि आठौँ पटकको निर्वाचनमा प्रचण्ड प्रतिस्पर्धाबाट बाहिरिए ।

त्यसपछि खनालसँग उनले १७ पटकसम्म प्रतिस्पर्धा गरेका थिए । यद्यपि, निर्वाचनको परिणाम नआएपछि निर्वाचन सम्बन्धि नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था आयो । त्यसपछि खनाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उक्त प्रतिस्पर्धा पछि पौडेल खिसिट्युरीको पात्रसमेत बन्न पुगे ।

लेखनमा समेत रुचि राख्ने पौडेलका कृतिहरु समेत सार्वजनिक छन् । प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली काँग्रेस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक प्रकाशित छन् । यस्तै, केही कविता र निबन्ध संग्रहसमेत सार्वजनिक भएका छन् ।

०७९ मङ्सिर ४ को आम निर्वाचनपछि पौडेलले नेपाली काँग्रेस र माओवादी मिलेर सरकार बनाउनुपर्छ भन्दै आएका थिए । तर, पौडेलले एमाले र माओवादीबीच प्रधानमन्त्री आधा–आधा कार्यकाल र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने गरी २०७९ पुस १० गते सहमति भएपछि उनले कांग्रेसबाटै प्रचण्डलाई धोका भएको अभिव्यक्तिसमेत दिए । पौडेल प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिएर चुनावी गठबन्धन जोगाउनुपर्छ भन्ने पक्षमा थिए ।

त्यही दिनदेखि ‘हाइज्याक भएको गठबन्धन फिर्ता गर्न’ पौडेलले राजनीतिक कौशलसमेत प्रदर्शन गरे । त्यही कौशलताको परिणामस्वरुप उनी आज नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?