‘हेबीवेट’ नेताका प्रतिस्पर्धी हेबीवेट नै, बाबुरामदेखि पशुपतिसम्म

काठमाडौं, ६ कात्तिक- एउटै पार्टीमा रहँदा एकले अर्कोलाई स्वीकार नगर्ने डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा पनि एकअर्काका प्रतिस्पर्धी बनेका छन् । फरक यति छ, भट्टराईलाई कांग्रेसको साथ छ भने श्रेष्ठ एमालेको सहयोगमा उम्मेदवार बनेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।वाम गठबन्धनमा एमालेको सूर्य चिह्न लिएर मैदानमा उत्रने निर्णय गरेका भट्टराईलाई अन्तिम समयमा माओवादी केन्द्रले ‘स्वीकार’ गरेन । र, भट्टराई वाम गठबन्धन छाडेर कांग्रेसको सहयोगमा उम्मेदवार बने ।जन्मथलो गोरखाबाट चुनावी मैदानमा उत्रेका श्रेष्ठ गोरखा २ नम्बर क्षेत्रलाई प्रतिष्ठाकै विषय बनाएर मैदानमा उत्रिए । गोरखावासी भट्टराई र श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ ।राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका छन् ।कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राणासँग वाम गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता अग्नि सापकोटा मैदानमा उत्रिएका छन् । वाम गठबन्धनपछि कांग्रेसले पनि साना दलसँग तालमेल गरी राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङबाट उम्मेदवारी दर्ता गरेका छन् । विगतमा काठमाडौंबाट चुनाव लडेका भट्टराई यसपटक भने गृहजिल्ला ताप्लेजुङबाट उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको मंसिर १० गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको हो । हिमाली र उच्च पहाडी ३२ जिल्लामा १० गते र बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदै छ ।माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्ति बस्नेतले वाम गठबन्धनका तर्फबाट जाजरकोटमा उम्मेदवारी दर्ता गरेका छन् । राप्रपाबाट एमाले प्रवेश गरेका गोविन्दविक्रम शाहले बस्नेतविरुद्ध स्वतन्त्र उम्मेदवारी दिए पनि शाहलाई फिर्ता गराउन प्रयास भइरहेको एमालेले जनाएको छ ।बस्नेतविरुद्ध कांग्रेसका निवर्तमान सांसद राजीवविक्रम शाहीले मनोनयन दर्ता गरेका छन् ।पहिलो चरणको निर्वाचनमा कांग्रेसका तर्फबाट ‘हेबीवेट’ मानिएका पूर्वअर्थमन्त्री डा.रामशरण महत र पूर्वमन्त्री अर्जुननरसिंह केसीले नुवाकोट १ र २ मा उम्मेदवारी दिएका छन् ।नुवाकोटमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले मिलेर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । महत विरुद्ध माओवादीका हितबहादुर तामाङ र केसीविरुद्ध एमालेका नारायणप्रसाद खतिवडाले उम्मेदवारी दिएका छन् ।वाम गठबन्धनमा सक्रिय भूमिका खेलेका माओवादी केन्द्रका नेता एवं निवर्तमान गृहमन्त्री जनार्दन शर्मा (रुकुम पश्चिम) बाट उम्मेदवार बनेका छन् ।पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दिएका छन् । सञ्चारमन्त्री एवं कांग्रेस नेता मोहन बस्नेतले सिन्धुपाल्चोक १ बाट उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट एमालेका निवर्तमान सांसद शेरबहादुर तामाङ उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?