सर्वोच्चले नेपालीलाई विदेशी भनेपछि भारतीय राज्य सिक्किममा भाँडभैलो

लोकपथ
52
Shares

काठमाडौं । भारतको सर्वोच्च अदालतले गरेको एक फैसलामा सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को संज्ञा दिएपछि सिक्किम केहिदिन यता तातेको छ । सिक्किममा चलेको आन्दोलनको रापले दार्जिलिङसम्मै छोएको छ ।

सर्वोच्च अदालतले गरेको उक्त टिप्पणीप्रति राज्य सरकार गम्भीर नभएको भन्दै सिक्किमका स्वास्थ्यमन्त्री डा. मणिकुमार शर्माले त पदबाट राजीनामा नै दिएका छन् । सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को दर्जामा राख्दा पनि राज्य सरकारले कुनै कदम नचालेकाले मन्त्री पदमा बसिरहँदा आफूलाई लज्जाबोध भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाले भने राजीनामा दिएका मन्त्रीलाई पार्टीले कारबाही गर्ने जनाएको छ । सिक्किममा अहिले मुख्यमन्त्री प्रेमसिंह तामाङ छन् । तामाङका राजनीतिक सल्लाहकार जेकब खालिङले शर्मामाथि सन् २०२० मा सरकार गिराउन खोजेको आरोपसमेत लगाएका छन् ।

एउटा मुद्दा सुनुवाइका क्रममा भारतीय सर्वोच्च अदालतले सिक्किमका नेपालीलाई ‘विदेशी’ भन्ने टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक साताभन्दा बढी समयदेखि अशान्त बनेको हो । सिक्किमका ६ वटै जिल्लामा सर्वोच्चको टिप्पणीप्रति विरोध प्रदर्शन भएको छ ।

सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चासहितका दल सडक आन्दोलनमा उत्रिएका हुन् । सर्वोच्च अदालतले सिंगो भारतीय नेपालीमाथि अपमान गरेको भन्दै तत्काल ‘सच्याउन’ प्रदर्शनकारीले सात दिने अल्टिमेटम नै दिएका थिए ।

सर्वोच्चले गरेको टिप्प्णीको सिक्किमका मुख्यमन्त्री तामाङका राजनीतिक सचिव जेकब खालिङ, हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भुटिया, सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राई, गोर्खा हित सर्वोपरी दललगायतले भत्सर्ना गरेका छन् ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले त नेपालीलाई किन विदेशीको संज्ञा दिइयो भन्ने विषयमा सरकारले सर्वोच्च अदालतमा रिट नै दायर गर्ने बताएका छन् ।

कुनैबेला अलग देश रहेको हिमाली राज्य सिक्किममा बसोबास गर्ने नेपाली, भुटिया र लेप्चा समुदायले मुलुक भारतमा गाभिँदा आयकरलगायतका छुट पाउने व्यवस्था गरिएको थियो ।

सोही समयदेखि त्यस राज्यमा रहेर व्यापार, व्यवसाय गर्दै आएका मारवाडी र बिहारी समुदायले पनि नेपालीले सरह राजनीतिक अधिकारसहित आयकर छुट पाउनुपर्ने दाबी गर्दै हालेको एक मुद्दा फैसला गर्नेक्रममा गत जनवरी १३ मा अदालतले नेपाली समुदायलाई विदेशीको टिप्पणी गरेपछि आन्दोलन चर्केको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?