अबको पत्रकारिता समाजको समृद्धितर्फ उन्मुख हुनैपर्छ : मन्त्री नरदेवी पुन

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनीतिक परिवर्तनमा सञ्चार जगत्को महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

क्रियाशील पत्रकार महिलाहरूको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचौं अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले अबको पत्रकारिता समाजको समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

सत्य, तथ्य र मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढाउन प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले समाजमा महिलाप्रति हुने विभेदको अन्त्यका लागि महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् । 

अर्का सदस्य राजीव पहारीले महिला हक अधिकारसँगै उनीहरूले भोगेका दुःख र पीडालाई पत्रकारिता क्षेत्रले उजागर गर्नुपर्नेमा जोड दिँदै पीडित महिलाको सहयोगगार्थ सञ्चारिका समूहले कोषको स्थापना गर्नुपर्ने बताए। 

सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष जमुना शर्मा वर्षाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समूहका उपाध्यक्ष विमला भण्डारी, महासचिव कविता श्रेष्ठलगायतले पत्रकारिता क्षेत्रमा महिलाको निरन्तरता अपरिहार्य रहेको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?