अपडेट : नुवाकोट दुर्घटनाका मृतक सबैको सनाखत

काठमाडाैं । नुवाकोटकाे दुप्चेश्वर गाउँपालिका-१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ । 

दुर्घटनामा परी मृत्यु हुनेहरुमा घ्याङफेदी सिसिपुकी २७ वर्षीया विभिमाया तामाङ, १४ वर्षीया सीता तामाङ, ३६ वर्षीया सुनश्री तामाङ, २४ वर्षीय शुकराम तामाङ, ३९ वर्षीय सोनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीय मङ्गले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ, ६० वर्षीय खाम्सुङ तामाङ, ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

यस्तै ४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङ सोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरबहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनबहादुर तामाङ, ४५ वर्षीय सुने लामा र शिखरबेँसीका १५ वर्षीय रितेश पण्डितकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मिनीट्रक दुर्घटनामा परी उपचाररत घाइतेमा घ्याङफेदीको सिसिपुकै २२ वर्षीया छिरिङ तामाङ, ४० वर्षीय रामबहादुर तामाङ, १७ वर्षीय रामु तामाङ, २६ वर्षीय साहिला तामाङ, २३ वर्षीय शिरमेन्दो तामाङ, सावित्री तामाङ, यारिमेन्दो तामाङ, ३८ वर्षीय मुइजित तामाङ, ४९ वर्षीय वीरबहादुर तामाङ, ३८ वर्षीय लक्ष्मण तामाङ, ३३ वर्षीय चन्द्रबहादुर तामाङ, २६ वर्षीय शुकराम तामाङ, रामभक्त थापा, मानबहादुर तामाङ र ९ महीनाकी नाबालिका रहेका छन् । 

दुप्चेश्वर गाउँपालिका-६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको बा३ख ३९१३ नंको मिनीट्रक दुप्चेश्वर–१ घ्याङडाँडामा दुर्घटना भएको थियो । घटनास्थलमै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

मिनीट्रक सडकदेखि करीब ५०० मिटर तल तादीखोलामा खसेको प्रहरीले जनाएको छ । शिखरबेँसीको सिम्टाङमा मृत्यु भएको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर जाँदै गरेको मिनीट्रक दुर्घटनामा परेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?