स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता ६ हजार

बैतडी । दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक छ हजार प्रोत्साहन भत्ता दिने भएको छ । 

गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष एक हजार थप गरेर छ हजार पुर्याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । महिला स्वास्थ्य स्वयंमसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् ।

नागरिकका स्वास्थयका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेकाले उनीहरूको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता बढाइएको उनले बताए । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

उनीहरूले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् ।

गाउँपालिकाका आठवटै वडामा ८६ महिला स्वास्थ्य स्वयंसेविका छन् । भने जिल्लाका १० वटै स्थानीय तहमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?